एकै दिन २ सय ५० स्थानीय तहमा अस्पताल भवन शिलान्यास
काठमाडौं : सरकारले सोमबार एकै दिन २ सय ५० स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरेको छ।
गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ सरकारले एकै दिन यति ठूलो संख्यामा अस्पतालको शिलान्यास गरेको जनाएको छ।
चालू आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप चालू आवमा ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
आज एकै दिन २ सय ५० बढी स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव बसन्त अधिकारीले अधिकांश स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको शिलान्यास भएका जानकारी दिए ।
संघीय सरकारका मन्त्री, मुख्यमन्त्री, प्रदेश सकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलगायतले विभिन्न स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास गरेको उनले बताए।
आज शिलान्यास हुन नसकेको स्थानीय तहले पनि चालू आर्थिक वर्षभित्रै अस्पताल निर्माण गर्नुपर्नेछ।
सरकारले पाँच शैय्याको अस्पताल निर्माण गर्न आठ करोड, १० शैय्याको अस्पतालका लागि ११ करोड र १५ शैय्याका अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोजन गरेको छ।
७ सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन्। तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो।
प्रदेश–१ मा ३२, प्रदेश–२ मा २०, बागमतीमा १९, गण्डकीमा ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिनेछ।
सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ। पहिलो चरणमा ३ सय ९६ स्थानीय तहलाई पाँचदेखि १५ शय्याको अस्पताल बनाउन ६४ अर्ब नौ करोड पठाइएको छ।
पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याका लागि ८५ लाख र १५ शैय्याका लागि एक करोड पठाइसकिएको छ।
अस्पताल निर्माणको सम्पूर्ण काम स्थानीय तहले गर्नेछन्।
मंसिर १५, २०७७ सोमबार १८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।