पोर्चुगल पठाउने भन्दै १६ लाख ठगी गर्ने पक्राउ

पोर्चुगल पठाउने भन्दै १६ लाख ठगी गर्ने पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। 

रुपन्देहीका दुई जनालाई पोर्चुगल पठाईदिने भन्दै ठगी रुपन्देहीको ओमसतिया गाउँपालिका–६ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिवनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाको टोलीले चौधरीलाई सुन्धाराबाट पक्राउ गरेको जनाएको छ। 

वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिने भन्दै चौधरीले ती दुई युवकबाट १६ लाख २५ हजार २५० रुपैयाँ लिएको खुलेको छ। 

राहदानीसमेत लिएर विश्वास दिलाएपछि चौधरीको खातामा रकम जम्मा गरेको पीडित युवाहरुले बताएका छन्।

चौधरीले अफर लेटर, भिषा लगायतका कागजातहरु पनि नक्कली बनाएको खुलेको महाशाखाले जनाएको छ। 

पक्राउ परेका चौधरीलाई ठगीसम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए।
 

मंसिर १५, २०७७ सोमबार १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।