रौतहट युवती हत्या प्रकरण : आमा–बुबा संलग्न रहेको खुलासा

रौतहट युवती हत्या प्रकरण : आमा–बुबा संलग्न रहेको खुलासा
फाइल तस्बिर।

स्थानीय राम अयोध्या साह तेली र पत्नी सीतादेवीले १७ वर्षीया छोरीको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 
गत कात्तिक २६ को राति आमासँगै घरमै सुतिरहेकी अमृता साहको गोली हानी हत्या गरिएको थियो। 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले युवतीका आमा–बुबासहित सात जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार देवाही गोनाही नगरपालिका–२, करुनिया लक्ष्मीनियाका ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय इस्लाम अन्सारी, ३५ वर्षीय शेख इन्ताज, ५० वर्षीय कैमुल देवान र परोहा नगरपालिका–४ का ४५ वर्षीय छोटेलाल साह घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। 

उनीहरूले हत्या गरेको स्वीकार गरिसकेको रौतहट प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले बताए। एसपी शाहका अनुसार अमृताको हत्या गर्न आमा–बुबाले ५० हजार रूपैयाँ खर्च गरेको खुलेको छ। 

छोरीको हत्या गर्न आमा–बुबाले इस्लाम अन्सारीलाई सो रकम दिएको र उनले अन्य व्यक्तिलाई प्रयोग गरी हत्या गर्न लगाएको बताइएको छ।

किन गरियो हत्या ?

अमृता सोमिन्द्र भगतसँग प्रेम गर्थिन्। तर, आमा–बुबाले अमृताको इच्छाविपरीत सर्लाही, विसुनपुर गाउँपालिका–३ का रूपेश साहसँग २०७६ असारमा विवाह गरिदिए। त्यसपछि अमृता पतिसँगै बस्न थालिन्। 

त्यसको केही दिनमै रूपेशमाथि आक्रमण भयो। घटनापछि रूपेशका परिवारले अमृता र उनका प्रेमी सोभिन्द्रमाथि प्रहरीमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गराए।

मुद्दा दर्ता भएपछि अमृता र रूपेशको सम्बन्ध बिग्रिँदै गयो। गत असारमा उनीहरूको सम्बन्धविच्छेद नै भयो। त्यसपछि अमृता माइतीमा बस्न थालिन्।

आमा–बुबाले छोरी सोभिन्द्रसँग भाग्ने सुइँको पाएपछि ‘अब समाजमा इज्जत नै जाने भयो’ भन्दै हत्या गर्ने योजना बुनेको र कात्तिक २६ मा हत्या गर्न लगाएको प्रहरीले जनाएको छ। 

मंसिर १५, २०७७ सोमबार १०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।