उद्योग वाणिज्य महासंघको चुनाव आज 

उद्योग वाणिज्य महासंघको चुनाव आज 
चन्द्र ढकाल (बायाँ) र किशोर प्रधान।

निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। महासंघको विधानमा अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष पछिल्लो कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था भएकाले निर्वाचनमा यो पद सर्वाधिक सर्वाधिक महत्त्वपूर्ण हो।

महासंघको नयाँ कार्यसमितिको नेतृत्व भने हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा गर्नेछन्। 

उपाध्यक्ष पदमा उद्योग वाणिज्य समूहतर्फ गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगत समूहतर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं एसोसिएटतर्फ रामचन्द्र संघाई र सौरभ ज्योतिको उम्मेदवारी परेको छ। गुणनिधि, उमेशलाल र रामचन्द्र ढकाल प्यानलबाट उम्मेदवारी दिएका हुन् भने दिनेश, अञ्जन र सौरभ प्रधान समूहका हुन्।

मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी रहेको महासंघले जनाएको छ। 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको खतरालाई ध्यान दिई छुट्टाछुट्टै तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ।

उद्योग वाणिज्य समूहका प्रतिनिधिले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा र एसोसिएट समूहका प्रतिनिधिले माइतीघरस्थित कार्की ब्याङकेटमा मतदान गर्ने व्यवस्था मिलाइएको छ। 

यस्तै, वस्तुगततर्फका प्रतिनिधिले टेकुस्थित महासंघको सचिवालयमा मतदान गर्नेछन्। कोरोना पोजेटिभ देखिएका मतदाताका लागि प्रज्ञा प्रतिष्ठानमा मतदानको व्यवस्था मिलाइएको उद्योग वाणिज्य महासंघले जनाएको छ।

मतदानबाट वरिष्ठ उपाध्यक्षसहित तीनजना उपाध्यक्ष, जिल्ला नगरतर्फ १८ जना केन्द्रीय सदस्य, वस्तुगततर्फ १४ जना केन्द्रीय सदस्य र एसोसिएटतर्फ १९ जना केन्द्रीय सदस्य छानिनेछन् । यसका लागि सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन्। मतदाताको संख्या १ हजार १५७ छ। 

कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै साधारणसभाको उद्घाटन र बन्द सत्र भर्चुअल माध्यमबाट सञ्चालन गरिएको थियो।

महासंघको जारी साधारणसभा बिहीबार सुरु भएको थियो। गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोरोना संक्रमणको महामारीका कारण पटक–पटक स्थगित भएको थियो।

मतगणनाको परिणाम आजै राति सार्वजनिक गरिने बताइएको छ। 

मंसिर १३, २०७७ शनिबार ०८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।