उद्योग वाणिज्य महासंघ चुनाव : मत जोडघटाउको छायामा बन्द सत्र
उम्मेदवारका साथै पूर्वपदाधिकारीले पनि आफू तथा आफ्ना पक्षका उम्मेदवारलाई मत माग्दै मतदाता प्रतिनिधिहरुसँगको भेटघाटलाई प्राथमिकता दिँदा बन्द सत्र प्रभावकारी बन्न नसकेको हो। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै बन्द सत्र भर्चुअल माध्यमबाट सञ्चालन गरिएको थियो।
औपचारिकतामा सीमित बन्द सत्रले वार्षिक प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन पारित गरेको छ। बन्द सत्रमा महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानका साथै उपाध्यक्षका उम्मेदवारहरुले आआफ्नो अवधारणा प्रस्तुत गरेका थिए। मन्तव्यका क्रममा ढकालले वर्तमान नेतृत्वको कार्यशैलीको आलोचना गर्दै प्रधानसँग भिजन नभएको टिप्पणी गरेका थिए। प्रधानले हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले तयार पारेको कार्ययोजनाअनुसार महासंघलाई अघि बढाउने प्रतिबद्धता जनाएका थिए।
मतदान तयारी पूरा
पूर्वनिर्धारित कार्यतालिकाअनुसार मतदान शनिबार बिहान ८ बजे सुरु हुँदैछ। यसका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ। कोरोना संक्रमणको खतरालाई ध्यान दिई छुट्टाछुट्टै तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ।
उद्योग वाणिज्य समूहका प्रतिनिधिले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा र एसोसिएट समूहका प्रतिनिधिले माइतीघरस्थित कार्की ब्याङकेटमा मतदान गर्नेगरी व्यवस्था मिलाइएको छ। यस्तै वस्तुगततर्फका प्रतिनिधिले टेकुस्थित महासंघको सचिवालयमा मतदान गर्नेछन्। कोभिड १९ पोजेटिभ देखिएका मतदाताका लागि प्रज्ञा प्रतिष्ठानमा मतदानको व्यवस्था मिलाइएको महासंघले जनाएको छ।
मतदानबाट वरिष्ठ उपाध्यक्षसहित तीनजना उपाध्यक्ष, जिल्ला नगरतर्फ १८ जना केन्द्रीय सदस्य, वस्तुगततर्फ १४ जना केन्द्रीय सदस्य र एसोसिएटतर्फ १९ जना केन्द्रीय सदस्य छानिनेछन्। यसका लागि सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन्। मतदाताको संख्या एक हजार एक सय ५७ छ। मतदानको परिणाम शनिबार रातिसम्म आइपुग्ने अनुमान गरिएको छ।
छुट्टाछुट्टै दुई प्यानल बनेर प्रतिस्पर्धामा रहेका उम्मेदवार यति बेला मतको अन्तिम जोडघटाउमा व्यस्त छन्। दुई प्यानलमध्ये एउटाको नेतृत्व चन्द्र ढकालले गरेका छन् भने अको प्यानलको नेतृत्व किशोर प्रधानले। उपाध्यक्षमा उद्योग वाणिज्य समूहतर्फ गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगत समूहतर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं एसोसिएटतर्फ रामचन्द्र संघाई र सौरभ ज्योतिको उम्मेदवारी परेको छ। गुणनिधि, उमेशलाल र रामचन्द्र ढकाल प्यानलबाट उम्मेदवारी दिएका हुन् भने दिनेश, अञ्जन र सौरभ प्रधान समूहका हुन्।
महासंघमा अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष पछिल्लो कार्यकालमा स्वतः अध्यक्ष बन्ने वैधानिक व्यवस्था छ। यसअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्ष भवानी राणाको स्थान लिनेछन्। यस चुनावबाट वरिष्ठ उपाध्यक्षमा विजयी उम्मेदवार त्यसपछिको कार्यकालमा स्वतः अध्यक्ष बन्नेछन्।
विधानअनुसार महासंघको साधारणसभा गत चैतमै हुनुपथ्र्यो। विश्वव्यापीरुपमा कोरोना संक्रमण फैलिएपछि पटकपटक सरेको साधारणसभा बिहीबार सुरु भएको हो।
रोचक बन्दै चुनाव
वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धीद्वय ढकाल र प्रधानले चुनाव प्रचारका क्रममा मतदाता प्रतिनिधिको मौखिक समर्थन पाएर आआफ्नो विजय दाबी गर्दै आएका छन्। तर, पछिल्लो समय प्रतिनिधिले ‘मन परिवर्तन’ गरेका कारण को विजयी बन्ला भनेर अनुमान गर्न कठिन हुँदै गएको एक प्रतिनिधिले बताए।
‘उम्मेदवारको देशव्यापी दौडाहाका क्रममा जसरी मतदाता ढकाल वा प्रधानका पक्षमा खुलेका थिए, काठमाडौं आइसकेपछि उनीहरुमध्ये कतिपयको मन परिवर्तन भएको पनि पाइएको छ,’ उनले भने।
यसो हुनुको कारण यही हो भन्न नसकिए पनि पैसाको खेल भएको हुन सक्ने उनको अनुमान छ। विगतमा चुनाव लडेका भुक्तभोगीले महासंघ चुनावमा पैसाको ठूलै खेल हुने खुलासा गर्दै आएका छन्।
चुनाव प्रचारका क्रममा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका प्रतिनिधिले ढकाललाई मत दिने प्रतिबद्धता जनाएका थिए। यस्तै, प्रदेश १ र प्रदेश २ का मतदाता प्रधानका पक्षमा खुलेका थिए। प्रतिनिधिहरु काठमाडौं आइसकेपछि भने अवस्था केही फेरिएको अनुमान गरिएको छ। प्रतिनिधि धेरै रहेको एसासिएट समूहमा ढकालको पकड बलियो रहेको र प्रधानलाई पुराना घरानिया उद्यमीको साथ रहेकाले दुवै उम्मेदवार उत्तिकै बलिया देखिएका छन्। यसले चुनाव निकै प्रतिस्पर्धी बन्ने देखिएको छ।
मंसिर १२, २०७७ शुक्रबार २०:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।