रूपन्देहीमा देशकै पहिलो स्मार्ट रिफ्रेस सेण्टर निर्माण सुरु

रूपन्देहीमा देशकै पहिलो स्मार्ट रिफ्रेस सेण्टर निर्माण सुरु

लुम्बिनी प्रदेश सरकारले राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण र सरसफाइलाई ध्यानमा राखेर नेपालमै पहिलो स्मार्ट रिफ्रेस सेण्टर निर्माण सुरु गरेको जनाएको छ।

अत्याधुनिक रिफ्रेस सेन्टरको शुक्रबार एक समारोहबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गरेका छन्। दुई चरणमा सम्पन्न गर्ने गरि तयार गरिएको आयोजनाको पहिलो चरणको लागत अनुमान ४ करोड ८२ लाख रूपैयाँ छ। रिफ्रेस सेन्टरमा सवारी पार्किङ, चार्जिङ सेन्टर, अत्यधुनिक शौचालय, चालक विश्राम गृह, यात्रु प्रतीक्षालय, चमेना गृहलगायत छन्।

राजमार्गमा अब्यवस्थित पार्किङ गरेर फोहर गर्ने कार्यलाई निरुत्साहित गर्न र लामो दूरीमा सवारी चलाउने चालकहरूलाई केहीबेर आराम गर्ने व्यवस्था गरि सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश सरकारले रिफ्रेस सेन्टरको स्थापनाको अवधारणा ल्याएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले रिफ्रेस सेन्टरले बहउपयोगी काम गर्ने विश्वास व्यक्त गरे। ‘राजमार्ग गाडी चलाउने चालकले यहाँ गाडी रोकेर थकान मेट्न पाउनुहुनेछ,’ उनले भने, ‘यहाँ चालकलाई मेडिटेसनका कार्यक्रम हुनेछन्, पार्किङ र भोजनको समेत व्यवस्था हुनेछ, यसले बढिरहेको दुर्घटना न्यून हुने हाम्रो विश्वास छ।’

पोखरेलले वर्तमान सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई सार्थक पार्न अगाडि बढेकाले अस्थिरताको आशंका नगर्न आग्रह गरे। उनले नेपालका शीर्ष नेताहरूमा क्रान्ति गर्ने तर उपलब्धिको ब्यवस्थापन गर्न नसक्ने कमजोरी रहेको उल्लेख गर्दै नेतृत्वले विवेक गुमाएका कारण नेपालमा राजनीतिक समस्या आएको आरोप लगाए।

‘नेपालमा ९÷९ महिनामा सरकार बदल्ने बानी परेको छ। त्यही परम्परा अनुसार सरकार बदल्ने र पालो कुर्ने संस्कार बसेको छ। यसलाई रोक्नुपर्छ। जनभावना अनुसार काम गर्नुपर्छ,’ उनले भने। उनले सहमति र सहकार्य अहिलेको अपरिहार्यता रहेको बताउँदै देखिएका समस्याका सामना गर्दै अगाडि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले नेपाली सामान्य ज्ञानमा नेपालको पहिलो रिफ्रेस सेण्टर रूपन्देहीको सञ्चालनमा आएको इतिहास कायम गर्न पाउनु जिल्लावासीका लागि गौरवको विषय भएको बताए। ‘यो इतिहास हो, यसले चालकलाई मनोरञ्जनका साथै पेशाप्रति थप जिम्मेवार बनाउनेछ,’ उनले भने।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले सैनामैनाले राजमार्गको सुरक्षा तथा आरामदायी रिफ्रेस सेन्टर सञ्चालनमा उदाहरण प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे। 
 

मंसिर १२, २०७७ शुक्रबार १६:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।