देशभरको मौसम सुधार, तापक्रम निरन्तर गिरावट 

देशभरको मौसम सुधार, तापक्रम निरन्तर गिरावट 

काठमाडौं : देशभरको मौसममा सुधार देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ।

महाशाखाका मौमविद् वरूण पौडेलका अनुसार पश्चिमी वायुको प्रभाव साथै दक्षिण–पश्चिम बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

‘शुक्रबार साँझसम्ममा मौसम सामान्य रहने छ। तापक्रममा एक्कासी परिवर्तन देखिने सम्भावना छैन। क्रमिकरूपमा जाडोको मात्रा बढ्दै जाने देखिन्छ,’ मौसमविद् पौडेलले भने।    

महाशाखाले गरेको तीन दिन (शुक्रबार, शनिबार र आइतबार)को मौसम पूर्वानुमान अनुसार देशभर वायुको तापक्रममा गिरावट आउने क्रमले निरन्तरता पाउने छ। तराई भू–भागमा बिहानीपख तुँवालोे लाग्ने सम्भावना छ। 

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हलुका वर्षाको सम्भावना छ। बाँकी भू–भागमा मौसम सफा रहने छ। 

त्यस्तै, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हिमपातको सम्भावना छ।

मंसिर १२, २०७७ शुक्रबार १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।