बर्दिबास हत्या प्रकरण : आज पनि प्रदर्शन
जनकपुरधाम : महोत्तरीको बर्दिबासमा बालिका हत्याको विरोधमा आज (बिहीबार) पनि प्रदर्शन गरिएको छ। पीडित पक्षसँग सम्झौता नभएको भन्दै आज (तेस्रो दिन) प्रदर्शन गरिएको हो।
६ वर्षीया गुलाब्सा खातुनको हत्यापछि गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको परिवारसँग सम्झौता गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको हो।
त्यसअघि गत बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको नेतृत्वमा आन्दोलनरत पक्षसँग गरिएको वार्तामा आन्दोलन स्थगित गर्नेसहित चार बुँदे सहमति गरिएको थियो। उक्त सहमति पीडित परिवारसँग नभएको भन्दै स्थानीय युवाले आज प्रदर्शन गरेका हुन्।
प्रदर्शनका कारण अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको साँझ ५ बजेदेखि खुलेको छ।
यसैबीच, बर्दिबास नगरपालिकाले हत्या गरिएकी बालिका र गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही २ लाख ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो।
नगरपालिकाले पत्रकार सम्मेलन गरेर गोली लागेर मृत्यु भएका परिवारका एक जना सदस्यलाई क्षमताको आधारमा रोजगारीसमेत उपलब्ध गराउने बताएको छ।
घटनाको विषयको सत्यतथ्य छानबिनका लागि बिहीबार दिउँसो प्रदेश २ प्रदेशसभा महिला बालबालिका तथा सामाजिक न्यायिक समिति सभापति जैनुल राइनसहितको संसदीय टोली पीडितको घरमा पुगेको छ।
सभापति राइनसँगै प्रदेशसभा सदस्य करिमा बेगम, शारदा थापा लगायतले पीडितको परिवारसँग भेट गरेका छन्।
बालिकाको हत्या घटनाको विषयमा छलफल गर्न शुक्रबार समिति बैठक बस्दैछ।
आइतबार साँझदेखि हराइरहेकी ६ वर्षीया बालिका खातुनको शव सोमबार मध्यराति फेला परेको थियो।
मंसिर ११, २०७७ बिहीबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।