नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सकियो

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सकियो

काठमाडौं : नेपाल भारत विदेशसचिवस्तरीय बैठक सम्पन्न भएको छ। दरबारमार्गस्थित याक एण्ड यति होटलमा भएको बैठक भर्खरै सकिएको हो।

बैठक सकेर बाहिरिने क्रममा भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगलाले छलफलको राम्रो सुरुआत भएको बताए।

‘छलफल अत्यन्त सकारात्मक भएको छ। दुई देशबीचका समस्याहरु समाधान गर्नेबारे छलफल भएको छ, यसलाई अत्यन्त सकारात्मक रुपमा लिएका छौं’ उनले भने।

बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन्।

सचिव पौड्याल नेतृत्वको प्रमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत तथा विदेश सचिव श्रृङ्गला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर) विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी रहेका छन्।

त्यसअघि परराष्ट्रसचिवद्वयबीच सहसचिवद्वय हमाल र बाग्ची तथा राजदूत क्वात्राको उपस्थितिमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो। 

सचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लागि सचिव श्रृङ्गला आजै काठमाडौं आएका हुन्। उनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सचिव पौड्याल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा राजदूत क्वात्रा एवं भारतीय दूतावासका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए।

आफ्नो भ्रमणको उद्देश्यबारे जानकारी दिँदै विमानस्थलमा सचिव श्रृङ्गलाले नेपाली भाषामा भने, ‘विदेश सचिवका रुपमा काठमाडौं आउँदा मलाई अत्यन्त खुशी लागेको छ। पहिले पनि म काठमाडौं आएको छु तर विदेश सचिवका रुपमा मेरो यो पहिलो भ्रमण हो।’

भारत र नेपाल निकटतम मित्र भएको भन्दै उनले मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन आफू नेपाल आएको बताए।

उनले शुक्रबार गोरखा पुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने बताए। 

गोरखामा ५० हजार घर बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणानुरुप ४० हजार घर बनिसकेको जानकारी दिँदै विदेश सचिव श्रृङ्गलाले मनाङमा निर्माण गरिएको बौद्ध गुम्बाको पनि शुक्रबार नै उद्घाटन हुने बताए। 

विदेशसचिव श्रृंगला आज बिहान काठमाडौं आइपुगेका हुन्। बैठक सकिपछि भारतीय विदेशसचिव श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै छुट्टा–छुट्टै भेटवार्ता गर्दै छन्।

मंसिर ११, २०७७ बिहीबार १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।