गच्छेअनुसार सहयोगको हात बढाउन सरकार तयार : प्रधानमन्त्री

गच्छेअनुसार सहयोगको हात बढाउन सरकार तयार : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट थलिएको निजी क्षेत्रलाई माथि उकास्न सकारकाले गच्छेअनुसारको सहयोग गर्ने बताएका छन्।
 

निजी क्षेत्रका उद्यमी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै ओली यस्तो बताएका हुन्।

सरकारी निवास बालुवाटारबाट भर्चुअल माध्यममार्फत साधारण सभाको उद्घाटन गर्दै ओलीले सरकारको आर्थिक क्षमता कमजोर भएका कारण उद्यमीले मागेजस्तो राहतको प्याकेज उपलब्ध गराउन नसकेको बताए। 

‘आफ्नो अभिभावकसँग उसको क्षमताअनुसारकै अपेक्षा गर्नुस्’ उद्यमी व्यवसायीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नेपाल सरकारले आफ्नो गच्छेअनुसार सहयोगको हात बढाउनेछ।’

प्रधानमन्त्री ओलीले कोभिड–१९ का कारण अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरिरहेको औंल्याउँदै यस्तो परिस्थितिबाट देशलाई कसरी मुक्त गराउने ? महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव कसरी घटाउने ? भन्नेतर्फ केन्द्रित हुनुपरेको बताए। 

देशको अर्थतन्त्रलाई पुरानै गतिमा फर्काउने चुनौती रहेको उनको भनाइ थियो। उद्योग वाणिज्य महासंघको साधारणसभाले यस्तो चुनौतीको सामना गर्ने उपाय पहिल्याएर सरकारलाई सुझाव दिने अपेक्षा उनले व्यक्त गरे। 

‘हामीले साझा समस्या भोगिरहेका छौं र यो समस्याको समाधान पनि सरकार र निजी क्षेत्रको साझा प्रयासबाटै खोज्न सकिन्छ, ओलीले भने,‘सबैको साझा प्रयासबाटै समस्यासँग जुध्न सक्छौं।’

प्रधानमन्त्री ओलीले गत आर्थिक वर्षमा ८.५ प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य रहेकोमा कोभिडका कारण वृद्धिदर शून्यमा झरेको बताए। ‘तर पनि यो खुसीकै कुरा छ किनभने ठूलाठूला विकसित देशको आर्थिक वृद्धिदर ऋणात्मक भएको छ’, उनले भने।

कोरोनाविरुद्ध भ्याक्सिन पत्ता लागेको सन्दर्भ जोड्दै ओलीले भ्याक्सिन पत्ता लगाउनु खुसीको कुरा भएको भन्दै मानव जातिका लागि ठूलो उपलब्धि भएको बताए।

खोपको प्रयोगले मानव जातिलाई यसको प्रकोपबाट मुक्त गराउने उनले विश्वास व्यक्तगरे। 

पूर्वनिर्धारित समयभन्दा झन्डै साडे दुई घन्टा ढिलो सुरु भएको उद्घाटन कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले आफ्नो कार्यकालमा भएका गतिविधिबारे जानकारी गराएकी थिइन्। 

सो अवसरमा महासंघका पूर्वअध्यक्षहरुलगायत उद्यमी व्यवसायीलाई सम्मान गरिएको थियो ।

महासंघको बन्द सत्र पनि जुमबाट नै सुरु हुने महासंघले जनाएको छ। मतदानको कार्यक्रम शनिबार बिहान ८ बजे सुरु हुनेछ।

कोभिड संक्रमणको जोखिमलाई ध्यान दिँदै भिडभाड हुन नदिन मतदान तीन ठाउँमा गर्ने व्यवस्था मिलाइएको महासंघले जनाएको छ। उ
द्योग वाणिज्य समूहका प्रतिनिधिले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान गर्नेछन्।

त्यस्तै एसोसिएट समूहका प्रतिनिधिले माइतीघरस्थित कार्की ब्याङकेट र वस्तुगततर्फका प्रतिनिधिले टेकुस्थित महासंघको सचिवालयमा मतदान गर्ने व्यवस्था मिलाइएको छ। 

कोभिड–१९ पोजेटिभ देखिएका मतदाताका लागि भने प्रज्ञा प्रतिष्ठानमा मतदानको व्यवस्था मिलाइएको महासंघले जनाएको छ।

साधारणसभाले वरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्ष, जिल्ला नगरतर्फ १८ जना केन्द्रीय सदस्य, वस्तुगततर्फ १४ जना केन्द्रीय सदस्य र एसोसिएटतर्फ १९ जना केन्द्रीय सदस्य छान्नेछ। 

यसका लागि एक सय २१ जना उम्मेदवार चुनावी मैदानमा छन् भने मतदाताको संख्या एक हजार एक सय ५७ छ। 

विधानअनुसार महासंघको साधारणसभा गत चैतमै हुनुपथ्र्यो। विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिएपछि साधारणसभा सात महिना पछि सरेको हो।
 

मंसिर ११, २०७७ बिहीबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।