करोडौं ठगीको आरोपमा इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने पक्राउ
न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं महानगरपालिका–४ चण्डोलबाट पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता एसपी वेलबहादुर पाण्डेले उनलाई इन्जिनियरिङ कलेज चाँगुनारायणमा ठगी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए।
नेपाल इन्जिनियरिङ कलेजमा न्यौपानेले २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो पटक कार्यकारी अध्यक्षको रुपमा कार्यरत थिए।
दोस्रो कार्यकाल २०७० मंसिर २३ देखि ०७५ असोज १५ गतेसम्म अध्यक्षको रुपमा कार्यरत थिए।
न्यौपानेले कलेजको सम्पत्ति विभिन्न परिपञ्च गरी अन्य संलग्न व्यक्तिहरु समेतलाई लाभ पुर्याई तथ्यगत रुपमा खुलेको ८ करोड २१ लाख ५३ हजार ६५० तथा लेखापरिक्षणबाट खुल्न आएको बेरुजु सहितको रकम रु २३ करोड १० लाख २३ हजार ४४३ रुपैया ठगी गरेको खुलेको व्यूरोले जनाएको छ।
सञ्चालक समितीको बैठकले जनही १ करोड ५० लाख रकम बिल भरपाई पेश गर्न नपर्ने गरी कलेजको रकम सञ्चालकहरुले लिएको खुलेको व्यूरोले जनाएको छ।
यस्तै कलेजको रकमबाट खरिद गरेको ४९ लाख ५६ हजारको गाडी किनेर न्यौपानेले आफ्नो नाममा दर्ता गरि चलाएको खुलेको छ।
कलेजको लेटर प्याड र छापको दुरुपयोग गरि खर्च नै नभएको सचिवालयको खर्चको बहानामा न्यौपानेले ५७ लाख ५० हजार झिकेको खुलेको व्यूरोले जनाएको छ।
यस्तै न्यौपानेले काल्पनिक शिर्षक बनाई सादा कागजमा हस्ताक्षर गरि बिल भरपाई नचाहिने गरि आफ्नो कार्यकालको बिभिन्न मितिमा रकम हिनामिना गरेको खुलेको व्यूरोको विज्ञप्तिमा उल्लेख छ।
ठगीबारे थप अनुसन्धान भैरहेको व्यूरोले जनाएको छ।
मंसिर १०, २०७७ बुधबार १७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।