देशभर मौसममा बदली, हिमपातसहित वर्षाको सम्भावना

देशभर मौसममा बदली, हिमपातसहित वर्षाको सम्भावना
तस्बिर : एमएफडी डट जिओभी डट एनपी।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) गरेको मौसम पूर्वानुमान अनुसार बुधबारदेखि शुक्रबारसम्म देशभरको मौसममा बदलाव देखिने सम्भावना छ। पश्चिमी वायुको प्रभावका कारण मौसममा बदलाव देखिएको महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार बुधबार दिउँसोसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र लुम्बिनी तथा बाग्मती प्रदेश र प्रदेश १ को पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। अन्य भू–भागमा मौसम सामान्य रहेको महाशाखाले जनाएको छ।  

‘बुधबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा सामान्य बदली र अन्य भागमा आंशिक बदली हुने देखिएको छ। साँझसम्ममा देशभरको मौसममा बदलाव देखिनेछ,’ उनले भने, ‘प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशमा बादल लाग्ने र चिसो बढ्ने छ।’

महाशाखाका अनुसार बुधबारदेखि शुक्रबारसम्म देशभरका केही स्थानमा हल्का हिमपातका साथै वर्षाको सम्भावना छ। 

महाशाखाले देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउने, तराईका भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। 

मंसिर १०, २०७७ बुधबार १७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।