उद्योग वाणिज्य महासंघ चुनाव : उम्मेदवार काठमाडौं केन्द्रित रणनीतिमा

उद्योग वाणिज्य महासंघ चुनाव : उम्मेदवार काठमाडौं केन्द्रित रणनीतिमा
तस्बिर : एफएनसिसिआई डट ओआरजी।

प्रचार प्रसारका क्रममा देशव्यापी दौडाहा सकेर दुवैजना यति बेला काठमाडौंमा केन्द्रित छन्।

वरिष्ठ उपाध्यक्षदेखि केन्द्रीय सदस्यसम्म बेग्लाबेग्लै प्यानल तयार पारी चुनावी प्रतिस्पर्धामा उत्रिएका ढकाल र प्रधानले सञ्चारमाध्यमसँगको कुराकानीमा सहमतिको सम्भावना लगभग सकिएको स्पष्ट पार्दै यति बेला आफूहरु अन्तिम तयारीमा जुटेको प्रतिक्रिया दिएका छन्।

आफूले २८ वर्षदेखि उद्यमी व्यवसायीसँग सहकार्य गर्दै आएको दाबी गर्दै प्रधानले त्यसैलाई चुनाव जित्ने आधार बताएका छन्। ढकालले भने आफूलाई उद्यमी व्यवसायीका समस्या बुझ्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।

यही आधारमा आफ्ना पक्षमा माहोल बनेको उनको भनाइ छ। आफूले जिते राज्यको नीति निर्माण तहमा महासंघको सबल उपस्थिति गराउन सकिने दाबी पनि उनले गरिरहेका छन्। दुई प्रतिस्पर्धीमध्ये मतदाताले कसलाई पत्याउने हुन्, यो थाहा पाउन मतदान र त्यसको परिणामलाई नै कुर्नुपर्ने हुन्छ।

प्रधानलाई केही पूर्वअध्यक्षहरू, वर्तमान अध्यक्ष भवानी राणा र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समर्थन छ। त्यसैले पनि ढकालका लागि चुनाव उनले सोचेजस्तो सहज नभएको विश्लेषण गरिएको छ। ढकालले भने एसोसिएट समूह र उद्योग वाणिज्य (जिल्ला नगर) समूहका बहुसंख्यक प्रतिनिधिको समर्थन आफूलाई प्राप्त भएकाले चुनाव जित्ने निश्चित भएको दाबी गरेका छन्।

ढकाल र प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकै दिनदेखि महासंघका केही पूर्वअध्यक्षहरू सहमति जुटाएर सर्वसम्मत पदाधिकारी चयन गर्न प्रयासरत थिए। उनीहरूले प्रयास अझै पनि जारी रहेको र अन्तिम घडीसम्म पनि सम्भावना जीवितै रहने दाबी गर्दै आएका छन्। प्रतिस्पर्धी ढकाल र प्रधानमध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिने अडान राखेपछि सहमतिको प्रयास निष्फल बनेको हो।

ढकाल र प्रधान दुवैले मुखले मात्रै सहमति भनिएको तर त्यसका लागि ठोस प्रयास भने हुन नसकेको टिप्पणी गरेका छन्। अझ एक कदम अघि बढेर ढकालले सहमति आवश्यक छ भन्नेहरूबाटै सहमतिका लागि इमान्दार प्रयास नभएको आरोप लगाएका छन्। 

वर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र केही पूर्वअध्यक्षहरूले सहमतिको रट लगाई आफ्ना प्रतिस्पर्धी प्रधानको काँधमा बन्दुक राखेर सिंगो निजी क्षेत्रको एकता भाँड्न खोजेको आरोप पनि ढकालको छ। प्रधानले भने आफू सहमतिका पक्षमा रहेको तर ढकालले नमानेको प्रतिक्रिया दिएका छन्।

यस्तो छ साधारणसभाको कार्यतालिका

साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी ओलीले बिहीबार बिहान साढे ११ बजे गर्ने तय भएको छ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको खतरालाई ध्यान दिँदै साधारणसभाको उद्घाटन प्रधानमन्त्री निवास बालुवाटारबाट जुम प्रविधिमार्फत गरिनेछ। बन्द सत्र पनि जुम प्रविधिबाटै सञ्चालन गर्ने तयारी छ। बन्द सत्र शुक्रबार बिहान १० बजे सुरु हुनेछ।

मतदानको कार्यक्रम शनिबार बिहान ८ बजे सुरु हुने महासंघले विज्ञप्तिमार्फत जनाएको छ। भिडभाड हुन नदिन मतदान तीन ठाउँमा गर्ने व्यवस्था मिलाइएको छ। उद्योग वाणिज्य समूहका प्रतिनिधिले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान गर्नेछन्।

त्यस्तै, एसोसिएट समूहका प्रतिनिधिले माइतीघरस्थित कार्की ब्याङकेट र वस्तुगततर्फका प्रतिनिधिले टेकुस्थित महासंघको सचिवालयमा मतदान गर्ने व्यवस्था मिलाइएको छ। कोभिड १९ पोजेटिभ देखिएका मतदाताका लागि भने प्रज्ञा प्रतिष्ठानमा मतदानको व्यवस्था मिलाइएको महासंघले जनाएको छ। महासंघले कोभिड पोजेटिभ पुष्टि भएका मतदातालाई यसबारे समयमै जानकारी उपलब्ध गराउन पनि अनुरोध गरेको छ।

साधारणसभाले वरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्ष, जिल्ला नगरतर्फ १८ जना केन्द्रीय सदस्य, वस्तुगततर्फ १४ जना केन्द्रीय सदस्य र एसोसिएटतर्फ १९ जना केन्द्रीय सदस्य छान्नेछ। यसका लागि सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन्।

मंसिर १०, २०७७ बुधबार १६:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।