दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउन माग

दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउन माग

यसअघि पटक पटक आफूहरुको व्यवसाय सञ्चालनको लागि सरकार तथा सम्बन्धित सबैलाई आग्रह गर्दापनि कुनै सुनुवाई नभएको भन्दै व्यवसायीले संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्।

कोभिड–१९ ले नेपालको अर्थतन्त्र अस्तव्यस्त हुँदा सबैभन्दा ठूलो मारमा दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय परेको समितिले जनाएको छ। 

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले दोहारी तथा रात्रिकालिन व्यवसायबाहेक अन्य व्यवसाय खुलाईएको तर यो क्षेत्र खुलाउनको लागि सरकारले कुनै चासो नदेखाएको जनाएको छ। 

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी व्यवसायी संघका अध्यक्ष रिम क्षेत्रीले दोहारी तथा रात्रिकालिन व्यवसाय तत्काल खुलाउनुपने बताए। 
‘सरकारले समितिले अघि सारेका माग जसरी पनि सम्बोधन गर्नुपर्छ।

माग सम्बोधन नभएकैले आन्दोलनमा उत्रिनु परेको हो। यो आन्दोलनले भोलिको दिनमा चर्को रुप लिनसक्छ। सरकारले बेलैमा सोचोस।’

त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्माले पनि समितिका मागमा आफूहरुको एक्येबद्धता जनाए। 

उनले भने,‘यो संस्था र हाम्रो संस्थाबीच नङ र मासुको जस्तै सम्बन्ध छ। समितिले अघि बढाएका माग र मुद्दामा हाम्रो एक्येबद्धता छ।’ 

त्यस्तै, नेपाल संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कार्कीले दोहारी तथा रात्रिकालिन व्यवसाय कलाकार सम्बन्धित व्यवसाय भएकोले सरकारले तत्काल व्यवसाय खुलाउनुपर्नेमा जोड दिए। 

समितिले विज्ञप्तिमा भनेको छ,‘कोभिड–१९ ले नेपाल लगायत विश्वको अर्थतन्त्र धराशयी बनाएको र पछिल्लो समय नेपाल सरकारले रात्रिकालिन लगायत अन्य केही व्यवसायहरु बाहेक सम्पूर्ण व्यवसायहरु स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गरिसकेको अवस्थामा देशका कला, संस्कृतिको संरक्षण र आयस्रोतको एक मेरुदण्डको रुपमा रहेको रात्रिकालिन व्यवसायलाई पूर्ण रुपमा बन्द गरिएको छ।’

‘हामीले पटक पटक सम्बन्धित निकायमा अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएकाले, काठमाडौं उपत्यकामा मात्रै झण्डै पाँच सयको हाराहारीमा रहेको व्यवसाय र २० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको यस व्यवसायलाई सरकारले कुनै पनि चासो नदिनु दुःखद् कुरा हो’ विज्ञप्तिमा भनिएको छ।  
 

मंसिर १०, २०७७ बुधबार १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।