बर्दिबास घटनाको मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरु

बर्दिबास घटनाको मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरु

बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि पक्राउ परेका आरोपितलाई कानूनी कारबाहीको मागगर्दै थालिएको आन्दोलनमा एक जनाको मृत्यु भएको छ।

आयोगले बुधबार विज्ञप्ति जारी गरी प्रदेश नम्बर २ कार्यालय जनकपुरबाट घटनाको स्थलगत अनुगमन भइरहेको जनाएको छ। 

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेद्वारा जारी विज्ञप्तिमा महिला तथा बालबालिकामाथि हुने हिंसात्मक घटना बढिरहेको भन्दै नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिक सतर्क र सचेत हुनुपर्ने उल्लेख गरिएको छ।

‘हिंसात्मक घटनामा संलग्नलाई कानून बमोजिम कारवाही गर्न। कानून हातमा लिन खोज्नेलाई कानूनी प्रक्रियाबाटै नियन्त्रणमा लिन। व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न आयोग आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ। 

त्यस्तै घटनाको निष्पक्ष छानविन गरी घटनामा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन र मृतक तथा पीडितहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन आयोगले सरकारलाई आग्रह गरेको छ।

कुनै पनि आपराधिक घटनामा कानूनबमोजिम कारवाही गर्ने कार्यमा नेपाल प्रहरीलाई सहयोग गर्न, प्रदर्शनका क्रममा संयमता अपनाई विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले प्रदर्शनकारीलाई आग्रह गरेको छ।

प्रहरीले चलाएको गोली लागी मंगलबार बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो।
 

 

मंसिर १०, २०७७ बुधबार १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।