महिलामाथि हुने हिंसा मानव सभ्यताको कलंक : प्रधानमन्त्री ओली 

महिलामाथि हुने हिंसा मानव सभ्यताको कलंक : प्रधानमन्त्री ओली 
अभियानको बुधबार भर्चुअल माध्यमबाट सुभारम्भ गर्दै प्रधानमन्त्री ओली।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि हुने विभिन्नखाले हिंसा मानव सभ्यताकै कलंक भएको बताएका छन्। 
 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले  यस्ता घटना देशको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक समानताका बाधक रहेको उल्लेख गरेका छन्।

‘यस्ता हिंसाहरु मानव सभ्यताका लागि कलङ्क हुन्, सभ्य, लोकतान्त्रिक र सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारका वाधा हुन्’ उनले भनेका छन्, ‘देशको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक समानताका बाधक हुन्।

सामाजिक अन्धविश्वासको आड लिएर हुने यस्ता हिंसा विरुद्ध राज्य र समाज दुवै तहमा सार्थक अभियान चलाइनु पर्छ।’

सोचमा रहेको लैंगिक असंवेदनशीलता र गरिवीका कारण हाम्रा अबोध छोरी, दिदी, बहिनी, बुहारी, आमाहरूमाथि अहिले पनि छाउको नाममा छुवाछुत, बेचबिखन, श्रम शोषण, वोक्सीको आरोप, यौनजन्य दुर्व्यवहार, बलात्कार, हत्या, एसिड आक्रमण लगायतका जघन्य अपराधहरु भएको ओलीले बताएका छन्।

नेपालको संविधानले लैङ्गिक लगायत सम्पूर्ण क्षेत्रमा समानताको सिद्धान्त आत्मसात गरेको उल्लेख गर्दै सरकारले महिला बिरुद्ध हुने सबै किसिमका हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको ओलील्े स्पष्ट पारे।

समानता र न्याय आफ्नो प्रतिवद्धता मात्र नभई निष्ठा भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसै निष्ठापूर्ण अग्रसरता स्वरुप राष्ट्रिय लैङ्गिक समानता नीतिको मस्यौदा मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको जानकारी दिएका छन्।

उनले तेजाव आक्रमणबाट पीडितहरुलाई उपचार, क्षतिपूर्ति र जीविकोपार्जन तथा पीडकलाई थप सजायको व्यबस्था सहितको अध्यादेश जारी भएको बलात्कारजस्ता गम्भीर आपराधिक घटनामा मेलमिलाप गराउनेलाई पनि कानुनी कारवाही हुने व्यवस्था गरिएको जानकारी दिए। 

यस्तै प्रधानमन्त्री ओलीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको बुधबार भर्चुअल माध्यमबाट सुभारम्भसमेत गरे।

यस वर्षको अभियानको नारा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति समाज र सबैको ऐक्यवद्धता’ रहेको छ। 


 

मंसिर १०, २०७७ बुधबार १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।