बालिका हत्या प्रकरण : प्रहरीको गोलीले घाइते न्यौपानेको मृत्यु 

बालिका हत्या प्रकरण : प्रहरीको गोलीले घाइते न्यौपानेको मृत्यु 

जनकपुर : महोत्तरीको बर्दिबासमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ।

उनको काठमाडौंस्थित ग्राण्डी हस्पिटलमा मंगलबार राति १ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

न्यौपानेलाई स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि मंगलबार अपराह्न हेलिकप्टरबाट काठमाडौं लगिएको थियो। 

बर्दिबासकी ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्या गरिएको भन्दै त्यसको विरोधमा मंगलबार दिउँसो पूर्व पश्चिम राजमार्गको बर्दिबास चोकमा प्रदर्शन गरिएको थियो। 

प्रदर्शनका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। त्यस क्रममा न्यौपानेसहित अन्य दुई जना घाइते भएका थिए। 

प्रहरीको गोली लागेर अन्य दुई जना घाइते छन्। तीमध्ये श्याम कार्कीको काठमाडौंमा उपचार भइरहेको छ। अर्का घाइते अफताब आलमको बर्दिबासमै उपचार भइरहेको छ।

मंसिर १०, २०७७ बुधबार ०९:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।