‘कोरोनाकै कारण अव भौतिक विकास रोकिँदैन’
झापाः शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना कहरका कारण अव कुनै पनि भौतिक विकासका कार्यहरू नरोकिने बताएका छन। निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि झापा आएका मन्त्री श्रेष्ठले उच्च सतर्कता अपनाएर कामलाई निरन्तरता दिने बताएका हुन।
स्थानीय देखि राष्ट्रिय गौरवका योजनाको निर्माण कार्यको अवस्थाबारे जानकारी लिँदै कोरोना कहरले प्रभावित योजनालाई अव उच्च गतिमा तीव्रता दिने बताए। अवलोकनका क्रममा मन्त्री श्रेष्ठले सुखानी शहिद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पु¥याउने आश्वासन दिएका छन।
मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि झापा विद्रोह र सुखानीका शहीदको बलिदानी सदैव स्मरणीय रहने उनको भनाई थियो। मन्त्री श्रेष्ठले ऐतिहासिक महत्वको उद्यानमा सरसफाइ र सुरक्षा प्रबन्ध मिलाएर व्यवस्थित रुपमा सञ्चालन गर्न निर्देशन दिएका थिए। वि.सं. २०२९ को झापा विद्रोहका क्रममा पक्राउ परेका कम्युनिष्ट युवा रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायती सरकारले झापाको चन्द्रगढी कारागारबाट कारागार सार्ने निहुँमा इलाम र झापाको सिमानास्थित सुखानी जङ्गलमा लगी गोली हानेर हत्या गरेको थियो।
सुखानीमा बलिदान दिएका शहीदका स्मृतिमा झापाको अर्जुनधारा नगरपालिका वडा नं ९ सालबारीमा विशाल उद्यान, कछुवा संरक्षण केन्द्र र पाँच शहीदको पूर्ण कदको शालिकसहितको प्रतिष्ठान स्थापना गरिएको छ। मन्त्रालयको टोलीले सोमबार झापाको विभिन्न १० स्थानमा बनेका र बन्ने योजनाको अवलोकन गरेको थियो। टोलीले मन्त्रालय अन्तर्गत सघन सहरी विकास आयोजना झापा मार्फत भएको कमल, गौरादह, गौरीगंज र दमका सडक, अस्पताल, भवन, विपन्न आवास र राष्ट्रिय गौरवको आयोजना भ्यूटावर समेतको अवलोकन तथा अनुगमन गरेको छ।
अनुगमनको क्रममा मन्त्री श्रेष्ठले दमकमा निर्माणाधीन भ्यूटावर देशकै गौरव र आधुनिक शैलीमा निर्माण हुने पहिलो ठुलो योजना भएकोले सबैको सहयोग आवश्यक रहेको बताएका थिए। राष्ट्रिय महत्व र बहुवर्षीय योजनामा रहेको सो भ्यू टावर व्यवसायिक भ्यू टावर हो। भ्यू टावरको करिब ३० प्रतिशत काम पुरा भएको छ। माटोको सतहमुनिको काम पुरा भएर माथिल्लो तहमा ढलाई गर्ने चरणमा रहेको सम्बद्ध निर्माण पक्षले जनाएको छ। चालू आर्थिक वर्षमा संघीय सरकारले सोका लागि ४० करोड रुपैया विनियोजन गरिसकेको छ।
त्यहा डेढ अर्ब भन्दा बढीको सरकारी लगानी रहनेछ। भ्यू टावर निर्माणको जिम्मा चिनिया कम्पनी जेसिडिआइइसी र नेपाली कम्पनी आशिष ओमसाई जेभीले लिएको छ। भ्यू टावर निर्माणका लागि स्थानीयले ५ बिगाह जग्गा निशुल्क रुपमा प्रदान गरेका छन्। २५ तला पक्की संरचना बन्ने त्यसमाथि थप ५ तलाको स्टिलको संरचना बन्ने जनाईएको छ। यो भ्यू टावर निर्माणपछि त्यहा विदेशी पर्यटकहरु समेत भित्रिने भएकाले दमक र समग्र देशकै पर्यटन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
मंसिर ९, २०७७ मंगलबार २३:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।