मोरङका ६ पालिकामा मंसिर १५ देखि विद्यालय सञ्चालन गरिने 

मोरङका ६ पालिकामा मंसिर १५ देखि विद्यालय सञ्चालन गरिने 

विराटनगर : मोरङको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रका ६ वटा स्थानीय तहहरूले मंसिर १५ गतेदेखि सबै विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरेका छन्।

मोरङको रंगेली नगरपालिकामा मंगलबार बसेको बैठकले विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो।

रतुवामाई नगरपालिका, सुनवर्शी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुखहरूको संयुक्त बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

विद्यालयमा स्वास्थ्य सुरक्षा अपनाएर दूरी कायम गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। 

बैठकद्वारा कक्षा ५ सम्म सञ्चालित विद्यालय एक सिफ्ट र १–१० वा १२ सम्म सञ्चालित विद्यालय दुई सिफ्टमा गरेर सञ्चालन गर्ने निर्णय गरेको सुनवर्षी नगरपालिकाका प्रमुख कालिप्रसाद दासले जानकारी दिए। 

विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि बुधबारसम्म तयार पारेर सार्वजनिक सूचना गर्ने दासले बताए। 
 

मंसिर ९, २०७७ मंगलबार १९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।