धरौटीमा रिहा भएका अभियुक्त बालिका हत्या आरोपमा पक्राउ
जनकपुरधाम : अदालतले धरौटीमा रिहा गरेका अरूणकुमार साह बालिका हत्या आरोपमा पक्राउ परेका छन्।
महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित शुभम् बस्तीकी ६ वर्षीया गुलाब साह खातुनको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका साह यसअघि आफ्नै साथीको हत्या आरोपमा पक्राउ परेर धरौटीमा छुटेका हुन्।
महोत्तरी प्रहरीका अनुसार आरोपित साहमाथि गत वैशाख २८ गते गाउँले दिलिप ठाकुरको हत्याको आरोप छ।
उनलाई महोत्तरी जिल्ला अदालतले धरौटीमा छुटाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध उच्च अदालत, जनकपुरमा पुनरावेदन समेत गरिएको बुझिएको छ।
खातुन गत आइतबार साँझदेखि हराएकी थिइन्।
प्रहरीका अनुसार पसलमा ‘चक्लेट’ किन्न गएकी बालिकालाई साहले अपहरण गरेर घरमा राखे। साँझ परेपछि बलात्कार गरेर हत्या गरी बोरामा पोको पारेर खेतमा फालेका हुन्। हत्यापछि साह गौशाला गए।
बालिकाको हत्या गरेको कुरा उनले आफ्नो परिवारलाई सुनाए। परिवारले स्थानीय प्रहरीमा हत्या गरेको खबर दिए।
प्रहरी कार्यालय, गौशालामा उनको परिवारले नै सोमबार राति १२ बजे बुझाए। प्रहरीले उनलाई सोमबार राति नै बर्दिबास लग्यो।
बालिकाको शव फालेको स्थानमा लगेर प्रहरीले शव बरामद गरेको इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंका अनुसार पक्राउ परेका अरूणले आरोप स्वीकार गरिसकेका छन्।
अवरुद्ध सडक सुचारु
बालिका हत्याको विरोधमा अवरुद्ध पारिएको सडकखण्ड सुचारु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत ढल्केवर–बर्दिवास सडकखण्ड पुनः सुचारु भएको छ। प्रदर्शन भने जारी नै रहेकोे बुझिएको छ।
मंसिर ९, २०७७ मंगलबार १७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।