न्यायपालिकाको मर्यादा र गरिमामाथि आँच आउने कुरा प्रतिवेदनमा छैन : दाहाल

न्यायपालिकाको मर्यादा र गरिमामाथि आँच आउने कुरा प्रतिवेदनमा छैन : दाहाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि आँच आउने कुरा उल्लेख नगरेको स्पस्ट पारेका छन्।

कार्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा न्यायपालिकामा लक्ष्ति नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको दाहालले स्पस्ट पारेका छन्।

मंगलबार दाहालको सचिवालयले एक विज्ञप्ति जारी गर्दै सचिवालय बैठकमा प्रस्ताव गरिएको कुरा प्रधानन्यायाधीशसँग सम्बन्धीत नभई प्रधानमन्त्री केपी शर्मा ओलीको न्यायपालिकाप्रतिको धारणा स्पष्ट पार्न खोजेको जनाएको छ। 

प्रचण्डले राजनीतिक प्रतिवेदनमार्फत प्रधानमन्त्री ओलीले न्यायपालिका प्रमुखलाई निवासमै बोलाएर भेट गरेको लगायतका विषय उठाएका थिए। तर, मंगलबार उक्त राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको उनको सचिवालयले जनाएको छ।

प्रतिवेदनमा के थियो त्यस्तो ?

‘प्रधानमन्त्रीले आरम्भमा नै राज्यका कतिपय निकायहरुलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत आफ्नो अधीनमा ल्याउनुभयो।

स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई निवासमा बोलाएर संसद भंग गर्ने, संकटकाल लागु गर्ने, द्वन्द्वकालीन मुद्धाहरुलाई निहित उद्देश्यका लागि दुरुपयोग गर्नेसम्मको कार्यमा हिस्सेदार बनाउने प्रयास गर्नुभएको कुरा बाहिर आयो,’ सो प्रतिवेदनमा दाहालले भनेका छन्,

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विमति राख्नेहरुसँग प्रतिशोध साँध्न दुरुपयोग गर्न खोजिएको कुरा चर्चामा आयो।’
यसबाट झण्डै दुई तिहाइ मतबाट बनेको सरकार कमजोर, अनुत्तरदायी र अयोग्य रहेको एवम् कानूनी शासनको मान्यताबाट विचलित हुनथालेको सन्देश जनतामा गएको जिकिर प्रचण्डले सो प्रस्तावमा गरेका छन्।

‘जनतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजनीतिक प्रणालीप्रति नै वितृष्णा उत्पन्न हुनसक्ने खतरा उत्पन्न भयो। सरकार संचालनका दुई वर्षको अवस्था हेर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओली पूर्णरुपले असफल देखिनुभयो,’ दाहालको प्रस्तावमा उल्लेख छ।

मंसिर ९, २०७७ मंगलबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।