होप इन्टरनेसनलमा छापा 

होप इन्टरनेसनलमा छापा 

काठमाडौं : वैदेशिक रोजगार विभागले मंगलबार दिउँसो लाजिम्पाटस्थित होप इन्टरनेसनल म्यानपावरमा छापा हानेको छ। 
 

वैदेशिक रोजगारीका लागि कतार प्रहरीको पदमा अवैध अन्तर्वार्ता लिएको जनाउँदै छापा मारेको विभागले जनाएको छ। 

छापा हान्ने क्रममा विभागको टोली र म्यानपावरबीच हात हालाहालको अवस्था सिर्जना भएको विभागका निर्देशक टीका नेउपानेले जानकारी दिए।

छापा मारिएको सो म्यानपावर कम्पनीमा कुटनीतिक नियोगको सवारी साधनसमेत फेला परेको छ। सो गाडी किन प्रयोग भयो भन्नेबारे खुलाइएको छैन। 

यस विषयमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालले छापा मार्ने क्रममा थप सुरक्षाकर्मी पठाइएको जानकारी मात्र दिए। विभागले छापा मार्ने क्रममा झडपको स्थिति भइरहेकाले थप जानकारी आउन केही समय लाग्ने उनले बताए। छापा मारिएको म्यानपावरभित्र संचारकर्मीलाई समेत प्रवेशमा रोक लगाइएको छ।

विभागले गत सोमबार धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डिडी ह्युमन रिसोर्स प्रालिमा कतार पुलिसको लागि पूर्वस्वीकृतिबिना नै अन्तर्वार्ता लिएको जनाउँदै छापा मारेको थियो। 

विभागका निर्देशक नेउपानेले उजुरीका आधारमा हाल नियमित छापा मार्न लागिएको बताए। उनले कतिपय म्यानपावरले तोकिएको भन्दा बढी पैसा लिएको र पूर्वस्वीकृतिबिना अन्तर्वार्ता लिइरहेको उजुरी धेरै आउने गरेको बताए।

सरकारले खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले निःशुल्क जान पाउने नियम बनाए पनि कतिपय म्यानपावरले साधारण श्रमिकलाई समेत लाखौं रकम लिँदै आएका छन्। 

कतार पुलिसमा रोजगारीमा जानको लागि शून्य लागत भने पनि म्यानपावरहरूले १२ लाख रूपैयाँसम्म असुली गर्ने गुनासो छ। 

मंसिर ९, २०७७ मंगलबार १५:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।