दाहालको प्रतिवेदन कार्यकर्ता तहसम्म बाँडिदै, ओली पक्ष थप सशंकित
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन कार्यकर्तास्तरमा वितरण गर्न थालिएको छ।
प्रधामन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपीशर्मा ओलीमाथि गम्भीर आरोपसहित उत्त प्रतिवेदन दाहाल पक्षले किताबकै रुपमा
प्रकाशित गरेर कार्यकर्तास्तरमा वितरण गर्न थालिएको हो।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयमा पेश गरिएको राजनीतिक प्रतिवेदन कार्यकर्ता तहसम्म वितरण गरिएको स्वीकार गरे।
‘दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन र यसअघि पाँच जना सचिवालय सदस्यले बैठक बोलाउन प्रधानमन्त्रीलाई लेखेको पत्र, उक्त पत्रबारे दुबै अध्यक्षका सवाल जवाफ समेटेर ३२ पृष्ठ भएको पुस्तक प्रकाशित गरिएको छ’ श्रेष्ठले भने।
पुस्तकको नाम ‘पार्टी एकता र पार्टी निर्माणका आधार’ दिइएको छ। पुस्तकको रुपमा प्रकाशित गरी कार्यकर्तामा वितरण गर्न भन्दै पुस्तक वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको घर घरमा पुर्याइएको छ।
केन्द्रमा विवाद मिलाउन पहल भइरहेका बेला विवाद विवादलाई तल्लो तहमा पुर्याउने काम गरेको भन्दै प्रधानमन्त्री ओली पक्षधरले आपत्ति जनाएको छ।
ओली पक्षले राजनीतिक प्रतिवेदन फिर्ता लिन दवाब दिइरहेका बेला प्रतिवेदन प्रकाशित गर्दै कार्यकर्तामा वितरण गर्न थालिएपछि ओली पक्षले आपत्ति जनाएको हो।
दाहाल समुहले सचिवालयमा पेश गरेको प्रतिवेदन कार्यकर्तातहमै पुर्याएर विवादलाई झन बढावा दिने काम गरेको ओली पक्षका एक नेताले बताए।
दाहालले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पार्टीभित्र गुटको राजतीति चलाएको तथा भ्रष्टाचारको संरक्षक बनेको आरोपसहितको प्रतिवेदन पेश गरेका थिए।
ओलीले दाहाल पक्षले पेश गरेको प्रतिवेदनको जवाफ मंसिर १३ गते बस्ने सचिवालय बैठकमा लिखितरुपमा पेश गर्ने जनाएका छन्।
मंसिर ९, २०७७ मंगलबार १४:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।