प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु 

प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु 

पोखरा : पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। यात्रु गम्भीर घाइते भएका छन्।

सोमबार दिउँसो भएको उक्त दुर्घटनामा लेकसाइड बस्ने फिस्टेल प्याराग्लाइडिङका पाइलट ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका नेपालीलाई उपचारको लागि मेट्रो सिटी अस्पतालमा पुर्याइएको थियो।

त्यहि उपचारका क्रममा उनको मृत्यु भएको छ। प्याराग्लाइडिङकी यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी छिन्। उनको मेट्रोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रेफर गरेको छ। 

उनको छाती, ढाड, खुट्टा, हातमा चोट लागेको छ। ल्यान्ड हुनु पर्ने स्थानभन्दा करिव डेढ–दुई किलोमिटर माथि खसेको प्रहरीले जनाएको छ। प्याराग्लाइडिङ क्याम चोक भन्ने ठाउँमा खसेको छ। 

के कारणले खसेको हो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 

मंसिर ८, २०७७ सोमबार १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।