कर्मचारीले स्वीकृतिबिना लोक सेवा तयारी कक्षामा पढाउन नपाउने
काठमाडौं : निजामती कर्मचारीले सरकारको स्वीकृतिबिना लोक सेवा आयोगका तयारी कक्षामा प्रशिक्षण दिन नपाउने भएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज (आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो।
विज्ञप्ति अनुसार राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो तहका निजामती कर्मचारीले नेपाल सरकार (मन्त्रिपरिषद्) र अन्य कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई निजी इन्स्टिच्युटमा उपस्थित भइ वा अनलाइन माध्यमको उपयोग गरि लोक सेवा आयोग वा अन्य निकायबाट सञ्चालन गरिने प्रतिष्पर्धात्मक तयारी कक्षामा लिखित तथा मौखिक प्रशिक्षण दिन नहुने उल्लेख छ।
सूचनामा सबै निजामती कर्मचारीलाई सेवा प्रवाहमा तल्लिन बनाइ निजामती सेवालाई व्यवस्थित र मर्यादित बनाउन यो निर्णय गरिएको जनाएको छ। यस सम्बन्धमा कार्तिक ७ गते मन्त्रीस्तरीय निर्णय भएको हो।
यसअघि कुनै मन्त्रालय वा निकायबाट प्रशिक्षकको रुपमा कुनै कर्मचारीलाई स्वीकृति उपलब्ध गराइएको भएमा ती सबै आजको मितिदेखि निष्क्रिय हुने उल्लेख छ।
प्रशिक्षकको रुपमा कुनै कर्मचारीलाई अब बिदा नदिने र काजमा खटिइ गएको अवस्थामा प्रशिक्षणमा सहभागी हुनसक्ने तर्फ सचेतसमेत गराइएको छ। मन्त्रालयबाट नयाँ मापदण्ड निर्माण नभएसम्मका लागि प्रकरण बमोजिमको स्वीकृति प्रदान गर्ने प्रक्रिया अगाडि नबढाउने जनाइएको छ।
कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश तथा स्थानीय तहमा समायोजन भएका निजामती कर्मचारीका हकमा समेत यही व्यवस्था लागू हुने छ।
स्वीकृतिबिना कुनै कर्मचारी प्रशिक्षणमा संलग्न भए/नभएको सम्बन्धमा सम्बन्धित सरकारी निकायहरूबाट कडाइका साथ अनुगमन गर्ने र भएको पाइएमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ।
मंसिर ७, २०७७ आइतबार २२:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।