चौरसिया हत्याका मुख्य आरोपी पक्राउ
पर्सा : आफ्नै पार्टीका नेता कार्यकर्ताको कुटपिटबाट ज्यान गुमाएका विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यारामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
सोही गाउँपालिका-३ का ३८ वर्षीय अखिलेशप्रसाद भनिने अशेसरप्रसाद चौरसियालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले वीरगन्ज-२५ स्थित अलौ सिर्सियाबाट चौरसियालाई पक्राउ गरेको जानकारी दिए। गत कात्तिक ६ गते सपथग्रहण कार्यक्रममा विवाद हुदा नेकपाकै अर्को पक्षको कुटाइबाट चौरसिया घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा ज्यान गएको थियो। त्यसयता अशेसर फरार थिए।
अलौ नेपाल-भारतको दसगजा क्षेत्र हो। उनी त्यहाँ लुकिछिपी बसिरहेको प्रहरीले जनाएको छ।
घटनाका आरोपीमध्ये दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। मृतक चौरसिया पूर्व माअोबादी पक्षका हुन भने उनको हत्या गर्नेहरु पूर्व एमाले रहेको बुझिएको छ।
मंसिर ७, २०७७ आइतबार २१:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।