तस्कर र प्रहरीबीच झडप, दुई जना पक्राउ
जनकपुरधाम : वीरगञ्जमा तस्कर र प्रहरीबीच झडप भएको छ। भारतको रक्सौलबाट भन्सर छलेर अवैधरुपमा कपडा भित्र्याउन खोज्दा तस्कर समूह र प्रहरीबीच आइतबार बेलुका झडप भएको हो।
झडपमा संलग्न रहेको तथा सामान ओसारपसार गरिरहेको आरोपमा प्रहरीले २२ वर्षीय मुन्ना भनिने एक युवक र ४० वर्षीया आइसा खातुनलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार झडपमा अस्थायी प्रहरी चौकी, इनर्वाका प्रहरी सहायक निरीक्षक (असई) जयप्रकाश पाण्डे घाइते भएका छन्। उनको नारायणी अस्पतालमा उपचार भइरहेकोे छ।
कसरी भयो झडप ?
तस्करहरुले भन्सार छलि सामान भित्र्याइरहेको गोप्य सूचना प्रहरीले पाए। भन्सार छलि गर्ने समूहलाई नियन्त्रणमा लिन असई पाण्डे दुईजना प्रहरीसहित खेतमा लुकेर बसेका थिए। करिब साढे दुई बजे भारततर्फबाट कपडा बोकेर आएका दुईजना महिलालाई नियन्त्रणमा लिन खोज्दा उनीहरुबीच तानातान भएको थियो।
त्यस क्रममा चोट लागेपछि असई पाण्डेको नाकबाट रगत बग्न थाल्यो। असई पाण्डेले आफूलाई गोली लागेको भनेर माथिल्लो निकायमा जानकारी गराएका थिए। तस्करलाई रोक्न खोज्दा सीमा नजिकैको उखु बारीबाट एक राउण्ड गोली फायर भएको र आफूलाई त्यसको छर्रा लागेको असई पाण्डेको दाबी छ। बन्दुक भने तस्करले सीमापारि नै फालेको उनको भनाइ छ।
गोली नै चलेको भन्ने खबर आएपछि जिल्ला प्रहरी कार्यालय, पर्साबाट प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) गंगा पन्त, प्रहरी नायब निरीक्षक मनोजित कुँवर सहितको टोली थप प्रहरी लिएर इनर्वा प्रहरी चौकी पुगेका थिए।
यता, प्रहरी नायब उपरीक्षक कुँवरले गोली प्रहार नभएको जानकारी दिए। ‘तस्करी गरेर ल्याएको कपडाको पोका खोस्ने क्रममा असईको नाकमा सानो चोट लागेको छ,’ उनले भने ‘गोली नै चलेको त हैन, तानातान भइरहेको समयमा कुनै बस्तुले आएर नाकमा लागेको हुन सक्छ, सानो गोलो घाउ छ।’
मंसिर ७, २०७७ आइतबार २१:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।