स्वाब संकलन गर्न महानगरले ल्यायो मोबाइल भ्यान
काठमाडौं : काठमाडौं महानगरपालिकाले आइतबार (आज) बाट पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ।
कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्रभावकारी बनाउन महानगरपालिकाले मोबाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको हो।
महानगरपालिले उपलब्ध गराएको सवारी साधनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो। राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई आइतबार भ्यान हस्तान्तरण गरेका हुन्।
प्रमुख शाक्यले घर बाहिर जान नसक्ने अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिकलाई लक्षित गरी भ्यानमार्फत स्वाब संकलन कार्य सुरु गरिएको बताए।
उनले कोरोनलाई हेलचेक्राई नगर्न पनि सुझाव दिए। सो भ्यान महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले सञ्चालन गर्नेछ।
महानगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत राजेश्वर ज्ञवालीले भ्यानमा जडान भएको कक्षमा बसेर १ पटकमा २ जनाको स्वाब लिन सकिने छ। हरेकको स्वाब लिइसकेपछि कक्षमा भएको स्वीच थिचेर स्वाब लिइएको ठाउँ स्वचालित रुपमा निसंक्रमण हुने उनले जानकारी दिए।
नास्टका बरिष्ठ प्राविधिक अधिकृत डा. शंकर ढकालले जसको स्वाब लिइएको हो उसैले भिटिएम आइस बक्समा राख्नुपर्छ।
स्वास्थ्यकर्मीलाई पीपीइ लगाउँदा हुने झन्झटबाट मुक्त गर्न यो कक्षको निर्माण गरिएको उनले जानकारी दिए।
नास्टले यस अघि संकट व्यवस्थापन केन्द्र, नेपाल प्रहरीलगायतका संघ संस्थाका लागि यस्तै प्रकारको प्रणाली उपलब्ध गराइसकेको जनाएको छ।
उक्त भ्यान सोमबारबाट वडास्तरमा परिचालन गरिने जनाइएको छ।
मंसिर ७, २०७७ आइतबार १६:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।