माधव नेपाल विरुद्धको मुद्दा हेर्न भ्याएन सर्वोच्चले

माधव नेपाल विरुद्धको मुद्दा हेर्न भ्याएन सर्वोच्चले

काठमाडौं : सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल विरुद्धको मुद्दाको सुनुवाइ धकेलिएको छ। 
 

बालुवाटार जग्गा हिनामिना प्रकरणमा नेपाल विरुद्ध दर्ता भएको मुद्दा आइतबार हेर्न नभ्याइनेमा परेपछि सुनुवाइ परधकेलिएको हो। 

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटार जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपालविरुद्ध पनि मुद्दा दायर गर्नुपर्ने माग गर्दै रिट दायर गरेका थिए।

सर्वोच्चले अग्राधिकार दिएको उक्त रिटको पेसी न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलासमा तोकिएको थियो।
नेपाल विरुद्धको मुद्दासहित आइतबार उक्त वेञ्चमा २५ वटा मुद्दा पेसीमा थिए।

२५ वटा मुद्दा मध्ये एउटावाहेक बाँकी सबै मुद्दा स्थगित र हेर्न नभ्याइनेमा परेका छन्।

वरिष्ठ अधिवक्ता न्यौपानेले २०७६ माघ २९ गते दायर गरेको रिटमा माधव नेपाललाई मुद्दा दायर नगरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधीवक्ताको कार्यालयलाई पनि विपक्षी बनाईएको थियो।

बहुचर्चित ललिता निवास बालुवाटारको जग्गा गैरकानुनी रुपमा दर्ता गरिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित एक सय ७५ जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

नेपालकै कार्यकालमा भएको निर्णयमा टेकेर ललितानिवासको जग्गा किनबेच भएको थियो। पूर्वसचिव शारदाप्रसाद त्रिताल छानबिन समितिको प्रतिवेदनले पनि मन्त्रिपरिषद्को २०६७ वैशाख ३१ को निर्णय जग्गा किनबेचमा कारक भएको उल्लेख गरेको छ। त्यो बेला नेपाल प्रधानमन्त्री थिए।

अख्तियारले नेपाललाई विपक्षी नबनाएपछि चौतर्फी आलोचनासमेत भएको थियो।  
 

मंसिर ७, २०७७ आइतबार १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।