काठमाडौं–ढल्केवर बिजुलीको प्रसारण लुप जोडियो
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले काठमाडौंदेखि ढल्केवर सम्मको बिजुलीको प्रसारण लुप (सर्कल) जोड्न सफल भएको छ।
नेपाल विद्युत प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार ग्रिडका दक्ष इन्जिनियरको टोलीले खिम्ती सबस्टेशनमा १३२ केभी लाइनको कनेक्सन र भित्रका कनेक्सन परिवर्तन गरी लुप जोड्न सफल भएको हो।
शाक्यले आइतबार दिउँसोबाट सो लुप चालु हुने बताए। ‘सुरुका छलफलपछि ग्रिडका प्रबन्धकलाई आवश्यक जडानको कदमहरु चाल्न आग्रह गरेको थिएँ,’उनले भने, ‘खिम्ती प्लान्टका कर्मचारी र ग्रिडकै केही कर्मचारी पनि अस्पष्ट थिए। तर, सैद्धान्तिक छलफलपछि उनीहरु पनि आश्वस्त भए। सबैको प्रयासबाट हामी सफल भयौं।’
उनले दक्ष इन्जिनियरहरुसँग छलफल गर्दा सहजै समस्या समाधान हुन्छ भन्ने यो एउटा सफल उदाहरण भएको जानकारी दिए। यसको प्रत्यक्ष फाइदा जाडो याममा देखिने उनको भनाई छ।
‘एउटा सर्किट ढल्केबरबाट पश्चिम चन्द्रनिगाहपुर, हेटौँडा हुँदै कुलेखानी, स्यूचाटार, बालाजु भएर भक्तपुर हुँदै लामासाँघु र खिम्तीसम्म पुग्थ्यो।
अर्को खिम्तिबाट लामासाँघु, भक्तपुर हुँदै काठमाडौँ प्रवेश हुन्थ्यो,’ शाक्यले भने, ‘त्यस्तो अवस्थामा बानेश्वरतिर बिजुली पुगने भने हेटौडातिरको लाइनबाट विजुली ल्याएर जोड्नुपथ्यो भने त्यता ओभरलोड हुँदा भक्तपुरतिरबाट ल्याएर जोड्नुपथ्र्यो। कहिले पूर्वबाट कहिले पश्चिमबाट जोड्नुपर्ने बाध्यताले ती दुईको लुप प्रसारण कहिल्यै पनि एकै ठाउँमा जोडिन पाएन।’
अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो भने त्यहि लुपबाट प्रशासरण हुने र मेक बिफोर ब्रेक गरिंदा विद्यूत काट्नु पर्ने बाध्यता नहुने शाक्यको विश्वास छ। ‘यो सामान्य समस्या हो, दुइ–चार जना इन्जिनियर एक ठाउँमा राखेर छलफल गर्दा सजिलै हल भयो,’ शाक्यले भने, ‘यो सामान्य प्राविधिक समस्या छलफलको अभावमा अल्झिएको थियो। यो समाधान भयो।’
शाक्यले स्यूचाटारस्थित भार प्रेषण केन्द्र (एलडीसी)को कन्ट्रोलरुममा पुगी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिने क्रममा त्यहाँका प्राविधिकहरुसँगको छलफलमा यो पत्ता लगाएपछि तत्काल समाधानको प्रयासमा लागेको बताए।
‘केही इन्जिनियर साथीहरु सुरुमा यो काम गर्नु हुदैंन भनी पछि हटेका थिए।’ उहाँहरुले केही समय मागेपछि हामी यो कार्य आइतबार सम्पन्न गर्न सफल भएका छौँ। रक्सौलमा पनि कहिले भारत केहिले नेपाल गर्दा त्यस्तो समस्या छ। अब त्यो पनि तत्काल समाधान गर्ने गरी टिम परिचालन भएको छ।’
शाक्यले त्यहाँको समाधानपछि भारत र नेपालमा लाइन स्विचिङ गर्दा लाइन काट्नु–जोड्नु पर्ने बाध्यता पनि अब हट्ने दाबी गरे।
प्राधिकरणका अनुसार यसपालिको जाडो यामका लागि २ सय ५० मेगावाट सम्मको बिजुली आयातको लागि भारतले आइतबार मात्रै स्वीकृत दिएको छ।
२ सय ५० मेगावट मध्ये केही (८० देखि १५० मेगावाट) २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि प्राधिकरणले जानकारी दिएको छ।
यो स्वीकृति जुन २०२१ सम्मलाई रहेको प्राधिकरणको भनाइ छ। त्यो समयसम्म नेपालको आफ्नै बिजुली अधिक हुने हुँदा निर्यातको लागि वार्ता भैरहेको बताइएको छ।
गत हप्ता मात्रै ढल्केवर मुजफ्फरपुर लाइन ४०० केभिमा चार्ज भइ भारतबाट ४०० केभिमा पहिलो पटक बिजुली प्रवाह भएको हो।
यसबाट बिजुलीको प्रवाहको लागि राजमार्ग तयार भएको छ। जसबाट आगामी वर्षातमा ५०० देखि ६०० मेगावाट सम्म निर्यातको संभावना बनेको प्राधिकरणको भनाई छ।
मंसिर ७, २०७७ आइतबार १२:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।