ओलीलाई बा भनेर ढोग्नेले दुर्व्यवहार गरे - पाण्डे
काठमाडौं : पूर्वअर्थमन्त्री एवं सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई बा भनेर ढोग्नेहरूले नै आफूमाथि दुर्व्यवहार गरेको बताएका छन्।
शनिबार चितवनको राप्ती नगरपालिका कमिटीको कार्यक्रममा बोल्ने क्रममा दुर्व्यवहारमा परेपछि नेता पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन्।
आफूमाथि भएको यो दुर्व्यवहार गैरराजनीतिक र अराजनीतिक चरित्र भएको पाण्डेले बताए।
उकेरासंगको कुराकानीमा पाण्डेले भने, ‘हुलहुज्जत गरेर आएकाले जबज आफैँले जोगाएको जस्तो गरे। आफैले पार्टी जोगाएको जस्तो गरे। त्यहाँ भएका कतिपयले केपी ओली कमरेडलाई भेट्दा बा भनेर ढोग्नेहरु थिए। मेरो निर्वाचन क्षेत्र भएकाले ती सबैलाई एकएक गरी चिन्छु।’ दुरव्यवहार गर्नेहरु मन्त्रीका सल्लाहकार, पिएका छोरालगायत ओलीसँग कुनै न कुनै रुपले जोडिएकै मान्छे भएको पाण्डेको भनाइ छ।
उनले आफू बोलिरहेको बेला राप्ती नगरपालिकाकी मेयर प्रभा बरालसंग भित्र छिरेको हुलले नाराबाजी गरेको बताए।
आफूमाथि दुर्व्यवहार गर्ने हुलमा थपलियाका छोरा, दावा लामा, दावा लामाका छोरा, दावा लामाका पिए, प्रकाश कालाखेती, केदार आचार्यलगायत ८-१० जना भएको उनको भनाइ छ। पाण्डेले गुटबन्दी गरेको भन्दै ओली पक्षका नेता कार्यकर्ताले उनी सहभागी कार्यक्रममा नाराबाजी गरेका हुन्।
मंसिर ६, २०७७ शनिबार २१:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।