नेकपा विवाद कार्यकर्ता तह पुग्यो, पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न माग
काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टीका दुई बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले शनिबार चितवनमा पूर्वअर्थमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेमाथि कारबाहीको माग गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेताद्वयले शनिबार साँझ छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको घोर भत्सर्ना गरेका छन्।
पाण्डे सहभागी भएको कार्यक्रममा नेकपाकै कार्यकर्ताहरुले सुनियोजित रूपमा नाराबाजी र अभद्र व्यवहार भएको बताएका छन्। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी समिति सदस्य पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने काममात्र गरेको भन्दै कार्यकर्ताले नाराबाजी गरेका हुन्। नेता खनालले कार्यक्रममा पाण्डे आफ्ना भनाइ राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय भएको बताएका छन्। उनले गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गरेका छन्।
खनालले कम्युनिष्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत गराएका छन्। पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरू खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता/ कार्यकर्तालाई विनम्र अनुरोध छ,' खनालले भनेका छन्।
अर्का बरिष्ठ नेता नेपालले पनि पाण्डेविरूद्धको नाराबाजी सुनियोजित भएको बताएका छन्।
'सभ्य, सुसँस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने/ गराउने जो सुकै भएपनि छानबिन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउॅछु,' नेपालले भनेका छन्।
राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा गरिएको अगुवा कार्यकर्ता भेलामा पुगेका पाण्डेलाई ओली समर्थित कार्यकर्ताले पार्टी एकताविरोधी भन्दै लखेट्ने प्रयास गरेका थिए। उनीहरूले पार्टी एकता जिन्दावाद, पार्टी फुटाल्न पाइँदैनलगायतका नारा लगाएका थिए।
पाण्डेले मदन भण्डारी फाउण्डेशनमार्फत् गुटबन्दी भएको बताएपछि ओली समर्थित कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका थिए।
नगर कमिटीको आधिकारिक भेलामा अन्य ठाउँका कार्यकर्ताहरू आएर बिथोल्ने प्रयास गरेको आरोप पाण्डे समर्थित कार्यकर्ताहरूले लगाएका छन्।
पाण्डे चितवन जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।
मंसिर ६, २०७७ शनिबार १९:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।