महासंघमा प्रतिस्पर्धीको अन्तिम कसरत, कसले मार्ला बाजी ?
काठमाडौं : निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य महासंघले नयाँ कार्यसमिति टुंगो लगाउन अब एक सातामात्रै बाँकी छ।
मतदानको दिन नजिकिँदै गर्दा प्रतिस्पर्धीहरुले प्रचार प्रसार तीव्र पारेका छन्। सँगसँगै को बलियो भन्ने अडकलबाजी पनि सुरु भएको छ। तर सबै मतदाताको मतभार एकसमान नहुने भएकाले कसको पल्ला भारी भनेर अनुमान गर्न कठिन देखिएको छ।
यति बेला महासंघमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित कार्यकारिणी सदस्य बन्न एक सय २७ जना चुनावी मैदानमा देखिएका छन्।
महासंघको निर्वाचन समितिले शुक्रबार जनाएअनुसार ६४ पदका लागि एक सय २७ जनाको उम्मेदवारी परेको हो।
दुई केन्द्रीय सदस्य भने निर्विरोध छानिएका छन् । समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। निर्विरोध निर्वाचित हुने कार्यकारिणी सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल छन्।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको उम्मेदवारी परेको छ। यी दुवै प्रतिस्पर्धी वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। दुई साताअघि नै छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका दुवैजना त्यसयता चुनाव प्रचारका क्रममा निरन्तर देश दौडाहामा छन्।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालमा अध्यक्ष बन्न पाउँछ। अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालका लागि अध्यक्ष बन्नेछन्।
अहिलेको निर्वाचनले छान्ने वरिष्ठ उपाध्यक्ष त्यसपछिको कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले पनि महासंघमा वरिष्ठ उपाध्यक्षको निर्वाचनले विशेष महत्व राख्ने गरेको छ।
निर्वाचन समितिका अनुसार उपाध्यक्षमा उद्योग वाणिज्य समूहतर्फ गुणनिधि तिवारी र दिनेश श्रेष्ठको उम्मेदवारी परेको छ। वस्तुगत समूहतर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र सौरभ ज्योतिको उम्मेदवारी परेको छ। गुणनिधि, उमेशलाल र रामचन्द्रले ढकाल प्यानलबाट उम्मेदवारी दिएका हुन् भने दिनेश, अञ्जन र सौरभ प्रधान प्यानलका हुन्।
महासंघको ५४औं वार्षिक साधारणसभाअन्तर्गत यही मंसिर १२ गते हुने मतदानले एकजना वरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्ष, जिल्ला नगरतर्फ १८ जना केन्द्रीय सदस्य, वस्तुगततर्फ १४ जना केन्द्रीय सदस्य र एसोसिएटतर्फ १९ जना केन्द्रीय सदस्य छान्नेछ।
जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३८ जना, वस्तुगततर्फ १४ सदस्यका लागि २९ जना र एसोसिएट्सतर्फ १९ सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ। यस्तै संस्थागत समितिबाट छानिने एक केन्द्रीय सदस्यका लागि तीनजनाले उम्मेवारी दिएका छन्।
यस्तै प्रदेशबाट छानिने केन्द्रीय सदस्यका लागि वाग्मती र लुम्बिनी प्रदेशबाट तीनतीन जना र प्रदेश २, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दुईदुई जनाको उम्मेदवारी परेको छ।
प्यानल नै बनेर चुनावी प्रतिस्पर्धामा उत्रिएका दुई समूहमध्ये कुनको पल्ला भारी होला ? अहिले नै अनुमान गर्न कठिन छ । वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी ढकाल र प्रधान दुवैले आफ्नो विजय निश्चित भएको दाबी गर्दै आएका छन्।
ढकाल यसअघि एसोसिएट्सतर्फ उपाध्यक्ष निर्वाचित भएका थिए । उनको बलियो आधार पनि एसोसिएट्सतर्फका प्रतिनिधि नै हुन् । महासंघमा एसोसिएटतर्फका प्रतिनिधिको संख्या अरु दुई समूहको तुलनामा निकै धेरै छ।
मतदाता सूचीमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फका एक सय प्रतिनिधि, वस्तुगततर्फका एक सय एक प्रतिनिधि र एसोसिएट्स समूहतर्फका नौ सय २३ प्रतिनिधि छन् । तर एसोसिएट्सतर्फको मतभार जिल्ला नगरको तुलनामा कम हुने व्यवस्था छ। यसले पनि कसको पल्ला भारी भनेर आकलन गर्न कठिन बनाइदिएको छ।
महासंघको विधानअनुसार एसोसिएट्स समूहको मतभार ३० प्रतिशत हुन्छ। त्यस्तै जिल्ला नगर वाणिज्य संघको ५० प्रतिशत र वस्तुगततर्फको २० प्रतिशत हुने व्यवस्था छ।
अर्कोतर्फ किशोर प्रधानलाई पुराना व्यापारिक घरानाको साथ छ। यसबाहेक प्रधानको कार्यक्षेत्र विराटनगर भएकाले उनले पूवतर्फबाट आफूलाई राम्रो मत आउने आकलन गरेका छन्। आन्तरिक कारणले सरकार अलोकप्रिय बनिरहेको बेला त्यसको फाइदासमेत प्रधानलाई मिल्ने अनुमान गरिएको छ। ढकाललाई उद्योगी व्यवसायीले वर्तमान सरकारको निकटका व्यवसायी भनेर चिन्छन्। बाग्लुङ स्थायी घर भएका ढकालले भने गण्डकी प्रदेशसहित पश्चिमतर्फबाट बढी मतको अपेक्षा गरेका छन्।
मंसिर ५, २०७७ शुक्रबार २०:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।