तीन विदेशीलाई देश निकाला गर्ने सरकारको निर्णय

तीन विदेशीलाई देश निकाला गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले तीन जना विदेशी नागरिकलाई नेपालबाट निकाला गर्ने निर्णय गरेको छ। लामो समयदेखि गैरकानूनी रुपमा नेपाल बसिरहेका अष्ट्रलियाका एक जना र यमनका २ जनालाई सरकारले देश निकाला गर्ने निर्णय गरेको हो।
 

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अस्ट्रेलियाका नागरिक लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शुल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र जरिवाना बराबरको ५० हजार मिनाहा गरी देश निकाला गर्ने निर्णय गरेको जानकारी दिए।

यस्तै यमन गणज्यका नागरिकहरु मोहम्मद स्मेल अहमद ओवादी र नासिम स्मेल अहमद ओवादीले बुझाउनुपर्ने भिसा दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शुल्क ५ हजार ११० अमेरिकी लडर र जरिवाना बापतको १ लाख मिनाहा गरी दुवै जनालाई देशनिकाला गर्ने निर्णय पनि सरकारले गरेको हो।

सरकारले कोरोना प्रभावित व्यवसायीलाई सहुलियत ऋण दिने भएको छ। कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। कार्तिक २७ र मंसिर ३ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले यसबारे जानकारी दिएका हुन।

बैठकले ‘व्यवसायिक निरन्तरता कर्जा कार्यविधि,२०७७’ स्वीकृत गरी  कोरोनाबाट प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई सहयताका लागि कर्जा दिने निर्णय गरेको हो। अतिप्रभावित क्षेत्र, प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रमा विभाजन गरी सोहि आधारमा व्यवसायीलाई सहायता उपष्लब्ध गराईने उनले जानकारी दिए।   

त्यस्तै मन्त्रिपरिषद्ले  नेपालको शहरी शासन तथा पूर्वाधार विकासका लागि विश्व विकास बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्रस्तावित १५ करोड अमेरिकी डलर अर्थात नेपाली करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।

यस्तै नेपाल प्रहरी तथा प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत,स्थानीय तहमा स्थापना हुने ५ देखि १५ शय्याका अस्तपालको आफ्नै जग्गा नभएमा सरकारले लिजमा जग्गा उपलब्ध गराउने सहित कर्मचारी बढ्वाका निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए।

मंसिर ५, २०७७ शुक्रबार १७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।