मेयर शाक्यले गरे स्वचालित नमूना शौचालय उद्घाटन

मेयर शाक्यले गरे स्वचालित नमूना शौचालय उद्घाटन

काठमाडौं : काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बुद्ध पार्क क्षेत्रमा स्मार्ट शौचालय सञ्चालनमा ल्याईएको छ। सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माणको योजना अनुसार चक्रपथ सडक खण्डको बुद्धपार्कमा स्वचालित नमूना सार्वजनिक शौचालयको शुभारम्भ गरिएको हो। 

शौचालयको विश्व शौचालय दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रवार शुभारम्भ गरे।  

४०० बर्ग फिट क्षेत्रफलमा निर्माण भएको सो सौचालयको शुभारम्भ गर्दै प्रमुख शाक्यले सार्वजनिक शौचालयलाई परम्परागत स्वरुपबाट

आधुनिक तथा अत्याधुनिक ढाँचामा रुपान्तरण गर्ने र व्यवसायिकताबाट सेवामुलक बनाउँदै लैजाने महानगरको योजना रहेको बताए।
‘‘सार्वजनिक शौचालय भएका ठाउँहरु शौचालयभन्दा अन्य व्यापारिक गतिबिधि गर्ने ठाउँ जस्ता देखिए।’ शाक्यले भने। 

शाक्यले व्यक्तिको आधारभूत आवश्यकतासँग जोडिएकाले सार्वजनिक शौचालय निर्माणलाई प्राथमिक योजना राखेर काम गरिरहेको भन्दै आधुनिक सामग्रीको जडान गरेपछि त्यसलाई सञ्चालन गर्ने आचरण पनि प्रबिधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए।

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिनावारी प्याड मेसिनमा सिक्का राखेर स्यानिटरी प्याड मेसिन सञ्चालन सुरु गरेकि थिईन।

महानरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले उक्त ठाउँलाई शौचालय पार्कका रुपमा विकास गर्ने वडाको योजना रहेको सुनाए। ‘दिशापिसाब संकलनबाट बायोग्याँस उत्पादन हुन्छ,’ उनले भने, ‘यसैबाट पार्कमा आउनेहरुका लागि खानेकुरा पकाइन्छ। शौचालय व्यवस्थापनको यो दिगो तरिका हो। यसले स्वयम्भु क्षेत्रको पर्यटक व्यवस्थापनमा नयाँ आयाम थपेको छ।’डंगोलले भने।

बढी भिडभाड हुने नयाँ बानेश्वर छक्कुपक्कु पार्कमा आधुनिक सौचालय निर्माणपछि हाल सञ्चालनमा छ। यसबाट पनि वायोग्याँस उत्पादन भैरहेको छ ।   

‘स्वयम्भूमा ५५ लाख रुपैयाँ लागतमा निर्माण भएको शौचालयमा वडा १५ ले ५ लाख रुपैयाँ र बाँकी एरोसानकातर्फबाट स्रोत व्यहोरिएको छ। 

एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यका अनुसार ‘शौचालयबाट उत्पादन भएको कुनै पनि फोहोर बाहिर नजाने र  प्रबिधि र वातावरणमैत्री दुवै पक्ष जोडेर तयार पारिएको छ।

शौचालयमा पुरुषका लागि ४ वटा युरिनल र २ वटा शौचालय, २ वटा कोठा रहेको महिला शौचालयमा बच्चालाई प्याड फेराउने ठाउँ, महिनावारी भएका बेला प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रबिधिबाट पानी र झोल साबुन आउने प्रबिधि, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायर) जडान गरिएका छन्।  

त्यस्तै पर्यटक र अपाङ्गता भएका व्यक्तिका लागि १÷१ वटा छुट्टाछुट्टै शौचालय कोठा छन्। स्वचालित भेन्टिलेसन, स्वचालित फ्लस प्यान, सुधारिएको दिसा गर्ने प्यान जडान गरिएका छन्।  

नुहाउनका लागि तातो र चिसो पानी आउने सावर, फोहरपानी प्रशोधन पुनः प्रयोग गर्ने प्रणाली, बायो ग्याँस प्रविधिबाट दिशाजन्य लेदो व्यवस्थापन यसका बिशेषता हुन्। शौचालयबाट उत्पादन भएको कम्पोट मल त्यहीँको बगैंचामा प्रयोग हुनेछ ।
  
बायोग्याँसका लागि १० घन मिटरको प्लान्ट छ। यसबाट मासिक रुपमा १.५ सिलिण्डर बराबर ग्याँस उत्पादन हुने एरोशासनका राष्ट्रिय प्रतिनिधि अमात्यले जानकारी दिए। सामान्य दैनिक २ हजार बढी आन्तरिक पर्यटक स्वयम्भु जाने आउने गर्छन् ।

मंसिर ५, २०७७ शुक्रबार १३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।