दाहाल ‘मर्यादाहीन’ मान्छे भएको सूर्य थापाको आरोप

दाहाल ‘मर्यादाहीन’ मान्छे भएको सूर्य थापाको आरोप

काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालमाथि गम्भीर आरोप लगाएका छन्।

थापाले दाहाललाई मर्यादाहिन मान्छे भएको आरोप लगाएका हुन्।                              नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा शुक्रबार बिहानै थापाले ‘मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भयौं’ भनेका छन्।                              नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले पञ्चायतले समेत लगाउन नसकेको आरोप दाहालले ओलीमाथि लगाएको भन्दै मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भएको बताएका हुन्। 
दाहालले गैरजिम्मेवार भएर ओलीमाथि आरोप लगाएको समेत थापाले बताए। नेकपाको सचिवालयको बैठकका क्रममा दाहालले गत शुक्रबार राजनीतिक प्रतिवेदनका रुपमा आरोपपत्र पेश गरेका थिए। उक्त आरोपपत्रमा ओली भ्रष्टाचारको संरक्षक बनेको आरोप दाहालले लगाएका छन्।
दाहालको उक्त प्रतिवेदनपछि नेकपा भित्र आरोप प्रत्यारोप चलिरहेको छ। 
थापाले दाहाललाई आरोप लगाउन कुनै प्रमाणको पनि जरुरी नभएको र मन नपरेपछि जसलाई जे भने पनि हुने रहेछ भनी तर्क गरेका छन्। उनले अहिलेसम्म प्रतिपक्षी दल नेपाली कांग्रेसलेसमेत आरोप लगाउन नसकेका विषयमा दाहालले आरोप लगाएको बताएका छन्। 
‘मेरो आसेपासेको काम भएन भनेर सचिवालय बैठकमा अध्यक्षलाई आरोप लगाउनु गलत हो’ थापाले भनेका छन्।                                           थापाले महाधिवेशनसम्म बहुमतका आधारमा नभइ सहमतिका आधारमा अगाडि बढ्ने सहमति भएको भन्दै अन्य सबै अफबाह भएको पनि स्पष्ट पारेका छन् ।
दाहाल अनैतिक र गैरजिम्मेवार हुँदा पनि प्रधानमन्त्री ओलीले गल्ती सुधार्न मौका दिने थापाको भनाइ थियो। उनले पतनको बाटोमा पुगेको माओवादीलाई छहारी दिने काम प्रधानमन्त्री ओलीको भएको भन्दै दाहाललाई फेरि पनि माफी दिएर छहारी दिने स्पष्ट पारेका छन्।    ओलीले दाहालको प्रतिवेदनको जवाफ आगामी मंसिर १३ गते बस्ने सचिवालय बैठकमा दिने बताइसकेका छन्।                                            ओलीले झुटा आरोप लगाएर अपमान गरेको भन्दै प्रमाणित गर्न नसके अध्यक्ष पद छाड्नुपर्ने तर्क पनि गरेका छन्। यो भनाइबाट प्रचण्डको कार्यकारी अध्यक्ष पद धरापमा परेको छ।

मंसिर ५, २०७७ शुक्रबार ०९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।