महानगरमा जथाभावी पार्किङमा कडाइ
काठमाडौं : काठमाडौं महानगरपालिका क्षेत्रमा जथाभावी पार्किङमा कडाइ अभियान थालिएको छ। महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त प्रयासमा पार्किङमा कडाइ अभियान थालिएको हो।
अभियानअन्तर्गत जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिई जरिवाना तिराउने गरिएको छ।
महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जथाभावी पार्किङ गरिएका सवारीलाई कागजपत्र हेरेर एक हजार रुपैयाँ जरिवाना तिराउने गरिएको जानकारी दिए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले प्रहरी वरिष्ठ उपरीक्षक ढकालले लकडाउन खुलेसँगै काठमाडौंमा भीडभाड बढेकाले जथाभावी पार्किङ गर्दा अव्यवस्थित भइ भीडभाड झन बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने खतरा भएकाले अभियान पुनः सुरु गरेको बताए।
‘कोभिड–१९ कारण ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई कारबाही गर्ने अभियान स्थगन गरिएको थियो।
नगर प्रहरी प्रमुख सापकोटाले ‘नो पार्किङ एरिया’ तथा फुटपाथमा पार्किङ गरेर राखिएका ३० ओटा मोटरसाइकल तथा स्कुटरलाई कारबाही गरेको जानकारी दिए।
‘नो पार्किङ एरिया’ तथा फुटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई उठाउँछौं,’ उनले भने, ‘यो अभियान निरन्तर चल्छ।’
मंसिर ४, २०७७ बिहीबार २०:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।