उद्योग वाणिज्य महासंघमा सहमतिको सम्भावना न्यून

उद्योग वाणिज्य महासंघमा सहमतिको सम्भावना न्यून

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व सर्वसम्मत चुन्न केही पूर्वअध्यक्षहरुले प्रयास जारी राखेको भए पनि सहमतिको सम्भावना एकदमै न्यून बन्दै गएको छ।  

यही मंसिर १० गते काठमाडौंमा सुरु हुने ५४ औं वार्षिक साधारणसभाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षलगायतको निर्वाचन गर्ने कार्यक्रम छ। 

वरिष्ठ उपाध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा छन्।

अहिलेको विषम परिस्थितिमा चुनावबाट नेतृत्व चयन हुँदा त्यसले आगामी दिनमा महासंघलाई नै अप्ठ्यारो पार्ने विश्लेषणसहित केही पूर्वअध्यक्षहरुले उम्मेदवारी घोषणा भएकै दिनदेखि सहमतिका लागि प्रयास जारी राखेका थिए। तर, अब समय निकै कम बाँकी रहेकाले पनि सहमतिको सम्भावना न्यून बन्दै गएको स्रोतले बतायो ।

वरिष्ठ उपाध्यक्षका दुई प्रत्याशीबीच सहमति जुटाउने जिम्मा पूर्वअध्यक्षद्वय रविभक्त श्रेष्ठ र महेशलाल श्रेष्ठलाई दिइएको थियो। 

पूर्वअध्यक्षहरुको भेलाले चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छानिँदा महासंघ कमजोर बन्ने, निजी क्षेत्रमा विभाजनजस्तो देखिने निष्कर्ष निकाल्दै सहमति खोज्ने जिम्मा पूर्वअध्यक्षद्वयलाई दिएको थियो। 

उनीहरुले सहमतिको प्रयास जारी रहेको र तिहारपछि निर्णायक छलफल गरिने बताएका थिए। तिहार सकिइसकेको छ तर छलफल तथा बैठक आयोजना गर्ने तयारी कतैबाट पनि भएको छैन।

आफूले वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवारलाई छुट्टाछुट्टै बोलाएर छलफल गरिसकेको तर दुवैतिरबाट सहमतिको संकेत नदेखिएको पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले बताएका छन्। 

ढकाल र प्रधान दुवैजना आ–आफ्नै अडानमा रहेको उनले स्पष्ट पारे। अहिलेको अप्ठ्यारो परिस्थितिमा निजी क्षेत्रबीचको एकताका लागि पनि एकले अर्कालाई छाडिदिन र आलोपालो वरिष्ठ उपाध्यक्ष बन्न प्रस्ताव राखेको तर दुवैजनाले आफूहरु निकै अघि बढिसकेकाले सहमति हुन नसक्ने प्रतिक्रिया दिएको श्रेष्ठले बताए। तर पनि अन्तिम समयसम्म सहमतिका लागि प्रयास जारी राख्ने उनको भनाइ छ।

वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी ढकाल र प्रधान दुवैले आफ्नो जित निश्चित भएको बताउँदै आएका छन्। उनीहरुको यो आत्मविश्वास पनि सहमतिमा बाधक देखिएको छ। ढकाल र प्रधान प्यानलैसहित उम्मेदवारी घोषणा गरेर निर्वाचनमा होमिएका छन्। उनीहरु यति बेला चुनाव प्रचारको दौडमा छन्।

यस्तै सहमतिको चर्चा चल्दै गर्दा निर्वाचन गराउने जिम्मा पाएको समितिले भने आफ्नो तयारी अन्तिम पुगेको जनाएको छ।  

समितिले निर्वाचनमा भाग लिन पाउने मतदाताको नामावली प्रकाशित गरेको छ। मतदाता सूचीमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फका एक सय प्रतिनिधि, वस्तुगततर्फका एक सय एक प्रतिनिधि र एसोसिएट समूहतर्फका नौ सय २३ प्रतिनिधि छन्। 

यसैगरी द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहबाट १२ जना र संस्थापक सदस्य १२ जनाले पनि मतदानमा भाग लिनेछन्।
उनीहरुले एक वरिष्ठ उपाध्यक्ष, तीन समूहका तीन उपाध्यक्षसहित ५३ केन्द्रीय सदस्य निर्वाचत गर्नेछन्। 

समूहगत उपाध्यक्षको मतदानमा सम्बन्धित समूहका प्रतिनिधिले मात्रै भाग लिनेछन्। वरिष्ठ उपाध्यक्ष चयन गर्न भने सबै प्रतिनिधिले मतदान गर्नेछन्। 

५१ प्रतिशत मत प्राप्त गरेको प्रतिस्पर्धी मात्रै वरिष्ठ उपाध्यक्षमा विजयी घोषित हुनेछ। प्रतिस्पर्धीमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याएन भने बढी मत ल्याउने दुईजनाबीच फेरि मतदान हुने व्यवस्था छ। महासंघमा पाँचजना केन्द्रीय सदस्य अध्यक्षले मनोनीत गर्न पाउने व्यवस्था छ।

मंसिर १० मा उद्घाटन हुने साधारणसभामा ११ गते बन्दसत्र सञ्चालन हुने र १२ गते मतदान हुने कार्यक्रम तय भएको छ। 

 

मंसिर ४, २०७७ बिहीबार १७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।