एक एआइजी र चार डीआइजीको दरबन्दी थप
काठमाडौं : सरकारले नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले दरबन्दी थप्ने निर्णय गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले जानकारी दिए।
गृह मन्त्रालयले पाँचजना डीआईजीको दरबन्दी थपका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो। मन्त्रिपरिषद्ले एक एआईजीको दरबन्दी पनि थप गरेको छ।
दरबन्दी थप गरिएसँगै अब नेपाल प्रहरीमा एआइजीको संख्या ५ पुगेको छ भने डीआइजीको संख्या १९ पुगेको छ।
नेपाल प्रहरीमा हाल प्राविधिकसहित चारजना एआईजी र १४ जना डीआईजी छन्। गत चैतमा १२ डीआईजीको दरबन्दी कटौती गरेर १४ बनाइएको थियो।
थपिएको दरबन्दीमा एआईजी बढुवा हुने व्यक्ति नै यसपछिका आइजीपी हुन्।
नयाँ दरबन्दी कायम भएसँगै प्रहरीमा रोकिएको बढुवा अगाडि बढ्ने देखिएको छ। थपिएको एक एआईजीको दरबन्दीमा बढुवाका लागि प्रमुख दाबेदारका रुपमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेल देखिएका छन्।
थपिएको एआईजीको दरबन्दी पनि उक्त कार्यालयमा नै राखिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीआईजी सहकुल थापा र प्रदेश नम्बर २ का डीआईजी धिरजप्रताप सिंह पनि भावी आईजीपीको प्रमुख दाबेदार हुन्।
तर, अहिले थपिएको एआईजीमा तत्कालै उनीहरुको बढुवा हुन सक्ने अवस्था देखिँदैन। पोखरेल सिनियर डीआईजी भएकाले उनी नै एआईजीमा बढुवा हुन सक्ने देखिएको छ।
मंसिर ४, २०७७ बिहीबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।