‘ह्याम्स र स्टार अस्पतालले नक्कली कोरोना रिपोर्ट बनाउँदा नेपाल एयरलाइन्स बदनाम’
काठमाडौं : उपत्यकाका केही निजी अस्पताल र ल्याबले कोरोना संक्रमणको नक्कली रिपोर्ट बनाउने गरेको पाइएको छ।
ह्याम्स अस्पताल, स्टार अस्पताल, सूर्या हेल्थ केयर र सेन्टर डाइगोनोस्टी ल्याबरोटरीले विदेश जानेहरुलाई कोरोनाको नक्कली रिपोर्ट दिने गरेको पाइएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र छाउनी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै यी ल्याबबाट विदेश जानेहरुलाई परीक्षण बिना नै नेगेटिभ रिपोर्ट दिने गरेको पाइएकाले छानबिन गर्न आग्रह गरेको छ।
ती अस्पताल र ल्याबहरुले स्वाब संकलनपश्चात निर्धारित समयसम्म भण्डारण गरेर राख्नुपर्नेमा उक्त नगरेको, स्वाब संकलनपश्चात् पनि रिपोर्ट मनिपलुसन गरी पोजेटिभ रिपोर्ट दिने गरेको मन्त्रालयले पत्रमा उल्लेख गरेको छ ।
मन्त्रालयले यस्तो परिस्थिति बारम्बार सिर्जना भएमा नेपाल भित्र हुने गरेको कोरोना परीक्षणको विश्वसनियतामा प्रश्न उठ्न सक्ने फलस्वरुप राष्ट्रिय ध्वजावाहक विमानको छविसमेत धुमिल हुन सक्ने भन्दै आवश्यक छानबिन र कारबाही गर्न माग गरेको छ।
मन्त्रालयले उक्त अस्पतालहरुलाई कारबाही गर्नका लागि नेपाल वायुसेवा निगमबाट प्राप्त भएका प्रमाणसमेत पेश गरिएको बताएको छ ।
हङकङ, दुबई, यूएई र जापानको नारिता पुगेका यात्रुहरुमा कोरोना संक्रमण पुष्टि भएपछि पर्यटन मन्त्रालयले छानबिन गर्न आग्रह गरेको छ। नेपालबाट नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा कोरोना पुष्टि भएपछि हङकङले २५ नोभेम्बरसम्म नेपाल एयरलाइन्सको उडान बन्द गरेको छ।
नेगेटिभ रिपोर्ट भएका यात्रुमा विदेश पुगेपछि कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न देशहरुले नेपाल एयरलाइन्सलाई सचेत गराउँदै आएका छन् विदेशमा पटक–पटक चेतावनी पाएपछि नेपाल एयरलाइन्सले अब सरकारी अस्पतालका ल्याबबाट ल्याएको रिपोर्टलाई मात्रै मान्यता दिने भएको छ।
मंसिर ४, २०७७ बिहीबार १७:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।