सचिवालय बैठक सार्ने ओलीको प्रयास असफल, बैठक बालुवाटारमा सुरु
काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
सचिवालय बैठक सार्ने पार्टी अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले प्रयास जारी राखेपनि अन्ततः सचिवालय बैठक तोकिएकै समयमा बसेको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यबहादुर थापाले केहीबेर अघि सचिवालय बैठक बालुवाटारमा सुरु भएको जानकारी दिए।
यसअघि गत शुक्रबार बसेको सचिवालय बैठकले मंसिर ३ गते बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी मिति तय गरेको थियो।
शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनसमेत पेश गरेका थिए।
ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको, ओलीकै कारण पार्टीमा समस्या आएको र ओली भ्रष्टाचारीको संरक्षक बनेको आरोप दाहालको प्रतिवेदनमा लगाइएको छ।
दाहालको उक्त प्रतिवेदन पछि तनावमा देखिएका ओली बैठक सार्न बुधबार बिहानसम्म पनि प्रयासरत थिए। यद्यपि बैठक नसर्ने अवस्था बनेपछि ओली पनि बैठकमा सहभागी भएका छन्।
ओलीले १ बजे नै मन्त्रिपरिषद् बैठक बोलाएका थिए। पछि त्यही बैठकमा सहभागी हुनका लागि १ बजे नै बोलाएको मन्त्रिपरिषद् बैठक पनि १ घण्टा सारिएको छ।
बहुमतले स्थायी समिति बैठक बोलाउने निर्णय गरे थप संकट आउने संकेत बुझेरपछि ओली एक कदम पछाडि हटेर सचिवालय बैठकमा सहभागी हुन लागेका उनीनिकट स्रोतको दाबी छ।
उनी सचिवालय बैठकलाई जति सकिन्छ छोटो समय बसेर स्थायी समिति बैठक बोलाउनबाट रोक्ने रणनीतिमा छन्।
मंसिर ३, २०७७ बुधबार १३:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।