राष्ट्रपतिसँग १ घण्टा भेटेर बाहिरिए प्रधानमन्त्री ओली
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच बुधबार बिहान भेटवार्ता भएको छ।
बिहान साढे १० बजे राष्ट्रपति भेट्न शीतल निवास पुगेका ओली साढे ११ बजे बाहिरिएका छन्।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधामन्त्रीबीच एक घण्टा भेटवार्ता भएको उकेरालाई जानकारी दिए।
पछिल्लो समय नेकपा भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री र राष्ट्रपति बीच मंगलबार पनि भेटवार्ता भएको थियो।
नेकपा सचिवालय बैठक आज दिउसो १ बजेका लागि बोलाइएको छ।
आजको सचिवालय बैठक सार्ने मनस्थितिमा पुगेका ओलीले आज १ बजे नै मन्त्रिपरिषद् बैठक बोलाएका थिए।
पछि मन्त्रिपरिषद् बैठक भने एक घण्टा पर सारेका छन्।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसतिका बहुमत सदस्यहरुले अघिल्लो सचिवालय बैठकमा प्रधामन्त्रीसमेत रहेका ओलीमाथि गम्भीर आरोपसहितको प्रतिवेदन बुझाएपछि विवाद झन् चर्किएको छ।
मंसिर ३, २०७७ बुधबार ११:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।