सचिवालय बैठक डाकेकै समय ओलीले राखे मन्त्रिपरिषद् बैठक
काठमाडौं : पार्टीको सचिवालय बैठक रोक्ने अन्तिम प्रयासरत नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठक डाकिएकै समयमा मन्त्रिपरिषद्को बैठक राखेका छन्।
बुधबार कुनै विशेष एजेन्डाबिनै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका हुन्।
मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको छ।
नेकपाको शुक्रबार बसेको सचिवालयको बैठकले आज दिउँसो १ बजे बैठक बस्ने तय गरेको थियो। प्रधानमन्त्री ओलीले ठिक १ बजे नै मन्त्रिपरिषद्को बैठक राखेका छन्।
१ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी आफूलाई आएको एक मन्त्रीले पुष्टि गरे।
सचिवालय बैठक बोलाएकै समय मन्त्रिपरिषद् बैठक बोलाउनुले ओली सचिवालय बैठक सार्ने मनस्थितिमा रहेको स्पस्ट हुने एक सचिवालय सदस्यले बताए।
यस्तै नेकपामा विवाद चर्किएको बेला नेपालका लागि चिनियाँ राजदूत र भारतीय राजदुतको सक्रियता बढेको छ। चिनियाँ राजदुत होउ यान्छीको सक्रियता पुनः बढेको हो।
उनले मंगलबार राति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्। भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टासम्म चलेको थियो।
यसअघि पनि आन्तरिक विवादका कारण झण्डै फुट नजिक पुगेको नेकपालाई जोगाउन राजदूत यान्छीले भूमिका खेलेको बताइन्छ ।
गत वैशाखको सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो। त्यसबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग–अलग भेटवार्ता गरेकी थिइन् ।
बहुमत सचिवालय सदस्यहरु बिपक्षमा उभिएपछि ओली अफ्ठेरोमा परेका छन्। सचिवालय बैठक सार्ने कसरतमा सक्रिए ओलीले मंगलबार भेटघाट तिब्र पारे। बैठकअघि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका छन्।
यस्तै मंगलबार साँझ राष्ट्रपति भण्डारीले दाहालसँग नि भेट गरेकी थिइन्। उनले दुई अध्यक्ष मिलेर पार्टी एकता गरेको, विभिन्न विवादहरु सुल्झाएको र अहिलेको विवाद पनि मिलाएर अघि बढ्न आग्रह गरेकी थिइन्।
दाहालले ओलीमाथि गम्भीर आरोप लगाउदै सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि पार्टी भित्रको विवाद झन उत्कर्षमा पुगेको छ।
मंसिर ३, २०७७ बुधबार ०९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।