सवारी साधन रोकेर रकम असुल्ने ६ जना पक्राउ

सवारी साधन रोकेर रकम असुल्ने  ६ जना पक्राउ

काठमाडौं : पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम असुल्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले ६ युवालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बर्दघाट–४ का २४ वर्षीय कमल राना र मनिष कुँवर, २३ वर्षीय सञ्जय सुनार, २९ वर्षीय सुजनमान श्रेष्ठ, ३१ वर्षीय निर्मल खरेल र ३० वर्षीय सुजन तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।

बर्दघाट नगरपालिका–४ स्थित राजमार्गमा समूहमा रहेका युवाले गाडि रोकेर जबर्जस्ती रकम असुली गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्।

सो समूहले लमजुङबाट रुपन्देहीको खैरेनीतर्फ कुखुरा लिएर आउँदै गरेको प्रदेश ०३-००१ च ०२२० नम्बरको जिपलाई रोकी भेटेरेनरी बिल देखाउन भन्दै गाडिको साँचो खोसेर रकम माग गरेको थियो। साथै गाडिमा रहेका केही कुखुरामा क्षति पुर्याइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

मंसिर २, २०७७ मंगलबार १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।