भोलिको सचिवालय बैठक सार्ने मनस्थितिमा ओली

भोलिको सचिवालय बैठक सार्ने मनस्थितिमा ओली

काठमाडाैं : सचिवालयमा अल्पमतमा परेका नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि बोलाइएको सचिवालय बैठक सार्ने  मनस्थितिमा पुगेका छन्। 

गत २७ गते बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गरेकाे राजनीतिक प्रतिवेदन फिर्ता नलिए सम्म सचिवालय बैठक सार्ने तयारी ओलीले गरेका छन्।पार्टी भित्र गुटको राजनीति गरेको र भ्रष्टाचारको संरक्षक बनेको जस्ता आरोप दाहालले ओलीमाथि लगाएपछि ओली सचिवालय बैठक बाहिरै सहमती खोज्ने प्रयासमा सक्रिए भएका छन्।

ओलीले दाहालले पेश गरेको प्रतिवेदन फिर्ता लिन लगाउन वा विवादको सहमती बैठक बाहिरै खोज्ने प्रसायका राष्ट्रपती विद्यादेवि भन्डारी, सचिवालय सदस्य माधव कुमार नेपाल र बामदेव गौतमलाई भेटिसकेका छन्।

नेपाल र गौतम दुबै जनाले दाहाले प्रस्तुत गरेको प्रतिवेदनमा आपुहरुकोसमेत योगदान रहेको भनेपछि ओली थप समस्यामा परेका छन्। 

यसैक्रममा ओलीले आज विहान पार्टी महासचिव विष्णु पौडेललाई दाहाललाई भेट्न पठाएर भोलिको बैठक रोकेर दुई अध्यक्ष बसेर उत्पन्न विद्यमान समस्याको समाधान खोज्न आग्रह गरेका छन्। दाहालले भने बैठक पूर्व निर्धारित मितिमै बस्ने र आवश्यक छलफल बैठकमै हुनुपर्ने बताएका छन्।

सचिवालयमा अल्पमतमा परेका ओली बैठक बाहिर नै सहमति खोज्न चाहन्छन्। तर, बहुमत सदस्य भने बैठकमै छलफल हुनुपर्ने अडान राख्दै आएका छन्। यसअघिको बैठक पनि केही बेर बसेर सकिएको थियो। 

नौ सदस्यीय नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् भने दाहालको पक्षमा नेपाल, झलनाथ खनाल, गौतम र नारायणकाजी श्रेष्ठ छन्।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओली र दाहाल दुबैले राजनीतिक भेटघाट तिव्र पारेका छन्।
दाहालले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग आज बिहानै छलफल गरेका हुन्। उनले देवेन्द्र पौडेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायतका नेताहरुसँग छलफल गरिरहेका हुन्।
ओलीले प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता नभए बैठक सार्ने मनस्थिति बनाएका बेला उनले स्थायी कमिटी सदस्यहरुसँग सल्लाह सुझाव मागेका छन्।

पार्टीको विवाद मिल्न नसक्दा नेकपा फुटको संघारमा पुगिसकेको छ। दुई अध्यक्ष तथा नेताहरु पक्ष/विपक्षमा लागेर आरोप प्रत्यारोपमा उत्रिएका छन्।

दाहाळे पेश गरेकाे राजनीतिक प्रतिवेदन पछि नेकपा विवाद वार कि पारकाे अवस्थामा पुगेकाे छ।
दाहालले पेश गरेको प्रतिवेदनमा प्रधानमन्त्रीमाथि जथाभावी आरोप लगाइएको भन्दै ओली पक्षधर नेताहरूले फिर्ता लिनुपर्ने बताउँदै आएका छन्।

प्रधानमन्त्री निकट सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा लगायतले सार्वजनिक रूपमै प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्ने बताएका छन्।प्रधानमन्त्रीनिकट अन्य नेताहरूले पनि प्रचण्डको प्रतिवेदनले एकै ठाउँमा बस्न सक्ने खालको नरहेको समेत टिप्पणी गरेका छन्।

दुइ अध्यक्षबीचकाे शक्ति समिकरणकाे टकरावले नेकपा जुन सुकै बेला दुर्घटनामा पर्न सक्ने भन्दै पछिल्लाे राजनीतिक तरंगित भएकाे छ।

मंसिर २, २०७७ मंगलबार १४:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।