धनकुटामा मेडिकल कलेज चर्चामै सीमित  

धनकुटामा मेडिकल कलेज चर्चामै सीमित  

विराटनगर : धनकुटामा मेडिकल कलेज र शिक्षण अस्पताल स्थापना गर्ने विषय चर्चामै सीमित भएको छ। प्रदेश १ सरकारले धनकुटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै दुई वर्षदेखि बजेट विनियोजन गरे पनि काम अघि बढ्न सकेको छैन। 

हरेक वर्ष थोरै–थोरै बजेट विनियोजन गर्दै आएको प्रदेश सरकारले धनकुटामा मेडिकल कलेज र शिक्षण अस्पताल स्थापनाका लागि ठोस काम भने गरेको छैन। प्रदेशको राजधानीको दाबी गर्दै आएको धनकुटावासीलाई फकाउन धनकुटामा मेडिकल कलेज र शिक्षण अस्पताल सञ्चालन गर्ने कार्यक्रम बजेटमा राखिएको थियो। तर, प्रदेश सरकारले अझैसम्म मेडिकल कलेज र शिक्षण अस्पतालको सम्भाव्यता अध्ययनसमेत गरेको छैन।

बजेटमा मेडिकल कलेज स्थापना गर्ने भनिए पनि न जग्गा छ न त सरकारले कुनै काम नै अघि बढाएको छ। आर्थिक वर्ष ०७६/७७ मा धनकुटामा मेडिकल कलेज स्थापना गर्न बजेट विनियोजन गरिएको थियो। चालु आर्थिक वर्ष पनि बजेट विनियोजन गरिएको छ। 

मेडिकल कलेज स्थापनाका लागि हालसम्म कुनै काम नथालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले  धनकुटामा मेडिकल कलेज स्थापनाका लागि कुनै पनि काम अघि नबढेको बताए। उनले भने, ‘बजेटमा उल्लेख भए पनि हालसम्म मन्त्रालयले मेडिकल कलेज स्थापनासम्बन्धी काम अघि बढाएको छैन।’ 

कोरोनाका कारण यो वर्षको बजेट रोकिएकाले चालु आर्थिक वर्ष मेडिकल कलेज स्थापनासम्बन्धी ठोस काम हुने अवस्था नरहेको भट्टराईले बताए। उनका अनुसार कोरोना रोकथाम र उपचारमा बजेट ‘डाइभर्ट’ हुने अवस्था रहेका कारण चालु आर्थिक वर्ष काम अघि बढ्ने सम्भावना न्यून छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको अत्यावश्यकबाहेक सबै योजना तथा कार्यक्रमको बजेट रोक्का गरिसकेको उनले जानकारी दिए। 

भट्टराईले भने, ‘अत्यावश्यक सेवबाहेक सबै योजना र कार्यक्रमको बजेट अर्थ मन्त्रालयले रोकिसकेकाले मेडिकल कलेज स्थापनाको काम सुरू हुने सम्भावना न्यून छ।’  

प्रदेश सरकार स्थापना हुँदाका बखत मोरङको गोठगाउँमा मेडिकल कलेज सञ्चालन गरी विराटनगरस्थित कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजना सरकारले ल्याएको थियो। गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको संरचना र विराटनगरस्थित कोशी अञ्चल अस्पताल संघीय सरकार मातहत रहेपछि प्रदेश सरकारले विकल्पका रूपमा धनकुटामा मेडिकल कलेज र शिक्षण अस्पताल स्थापना गर्ने योजना ल्याएको थियो। 

पहाडी जिल्लाका बिरामीहरूलाई उपचार सेवा सहजरूपमा उपलब्ध गराउन धनकुटामा मेडिकल कलेज र टिचिङ अस्पताल आवश्यक रहेको भन्दै धनकुटाका सांसदहरूले प्रदेशसभा बैठकमा सरकारलाई दबाब दिँदै आएका छन्। 
 

मंसिर २, २०७७ मंगलबार १२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।