जुवाको खालबाट वडाध्यक्षसहित १५ पक्राउ
सुर्खेत : सुर्खेतमा एक वडाध्यक्षसहित १५ जनालाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ।
पञ्चपुरी नगरपालिका-२, का वडाध्यक्ष जगत विसी, वडा नम्बर ३ का वडासदस्य चन्द्रवीर रावतसहित १५ जनालाई शनिबार राति जुवा खेलिरहेको अवस्थामा प्रहरीले श्रीचौरबाट पक्राउ गरेको हो।
जुवाको खालबाट तीन लाख बढी नगद रुपैयाँ पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख बखतबहादुर शाहीले जानकारी दिए। उनका अनुसार पञ्चपुरी नगरपालिकाका ३१ वर्षीय रमेश बोहोरा, ३० वर्षीय नवीन शर्मा, ५० वर्षीय चन्द्रविर रावत, २८ वर्षीय बालाराम रोकाय, ५४ वर्षीय जगतबहादुर विसीलाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै ६१ वर्षीय अग्नी शर्मा, ३८ वर्षीय पूर्ण सुवेदी, ३४ वर्षीय खगेन्द्र जैसी, ३८ वर्षीय सुशीलकुमार बुढा, ४८ वर्षीय नवराज शर्मा, ३४ वर्षीय हर्कबहादुर बुढा, १९ वर्षीय लिलबहादुर, २४ वर्षीय कर्णबहादुर बुढा र ४० वर्षीय शिव खनाल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले पक्राउ गरिएकाहरुलाई बाबियाचौर इलाका प्रहरी कार्यालयमा राखिएको बताए। थप अनुसन्धान भैरहेको उनले जानकारी दिए।
कात्तिक ३०, २०७७ आइतबार १३:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।