कोरोना संक्रमित कांग्रेस महासमिति सदस्य न्यौपानेको निधन
काठमाडौं : कोरोना सङ्क्रमणका कारण नेपाली कांग्रेस कैलालीका नेता तथा महासमिति सदस्य लक्ष्य बहादुर न्यौपाने (लक्ष्मण) को निधन भएको छ ।
कैलालीको भजनी नगरपालिका–८ गोलचउरा निवासी ६५ वर्षीय न्यौपानेको नेपालगन्जको भेरी प्रादेशिक अस्पतालमा उपचारका क्रममा हिजो राति निधन भएको हो। गत कार्तिक २१ गते सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए। समस्या बढ्दै गएपछि गत बिहीबार धनगढीको कोरोना अस्पताल ल्याइएका उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको थियो। पुर्ख्यौली घर दाङमा दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्तजनले बताए छन्। यस अघि उनले लामो उपचार पछि क्यान्सर जितेका थिए।
मृतक न्यौपाने नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य, महिला विभाग प्रमुख तथा पूर्व सांसद ईश्वरी न्यौपानेका श्रीमान् हुन। न्यौपानेका २ छोरा,१ छोरी र आमा छन् ।
न्यौपानेको निधनप्रति नेपाली काङ्ग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले गहिरो दुःख व्यक्त गरेका छन्।
कात्तिक ३०, २०७७ आइतबार ०९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।