कमलपोखरी पुनःनिर्माणमा मेयर शाक्यको असन्तुष्टि
काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरीको अनुगमनका क्रममा आज त्यहाँ पुगेका शाक्यले असन्तुष्टि जनाएका हुन्।
६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी निर्धारित समय भित्रै सम्पन्न गर्ने गरी कामलाई दु्रतरुपमा अघि बढाउन प्रमुख शाक्यले निर्देशन दिए। ‘काममा ढिलासुस्ती भयो भन्ने गुनासो आएपछि म आफैँ स्थलगत अनुगमनका लागि आएको हुँ,’ शाक्यले भने, ‘काठमाडौँ महानगरपालिकाले आर्थिक अभाव हुन दिदैन। तपाईँहरुले यो वा त्यो बहानामा काम रोक्न पाउनुहुन्न ।’
स्थलगत अनुगमनमा पुग्नुभएका प्रमुख शाक्यले करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी समेत गरे। ‘कमल पोखरीको अस्थित्व जोगाउँदै पुर्ननिर्माणको काम अघि बढाएका छौँ,’ शाक्यले भने, ‘महानगरपालिको केन्द्रभागमा रहेको यो पोखरी पुर्ननिर्माणपछि काठमाडौँवासीका लागि आकर्षक स्थल बन्ने छ ।’
उनले छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउनका लागि समेत सहज हुने गरी पोखरी निर्माण भैरहेको पनि जानकारी दिए। पोखरी कला र संस्कृतिलाई जोड्ने खालको होस भन्ने चाहना रहको पनि उनले बताए।
सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण हुने जानकारी दिए आयोगका अनुसार पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ। पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण पनि आयोगले जानकारी दिएको छ ।
काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभावका प्रमुख राम थापाले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने जानकारी दिए।
उनले अहिले अनधिकृत संरचना हटाउनेलगायतका काम भैरहेको भन्दै मंसिर मसान्तासम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको भन्दै आवश्यकता र औचितत्यका आधारमा केही समय म्याद गर्न सकिने बताए। तर, विभिन्न वाहनामा काम रोक्ने र समयमा काम सम्पन्न नगरे कारवाही गर्ने समेत चेतावनी थापाले दिए।
इन्जिनियर प्रेम श्रेष्ठले बृद्धबृद्धालाई समेत ध्यानमा राखेर निर्माणको ढाँचा तयार पारिएको भन्दै सो पोखरीमा रात्रीकालिन वत्तीको समेत व्यवस्था गरिएको जानकारी दिए। निर्माण व्यवसायी अर्जुन कडेँल र इन्द्र सिटौलालेले ४५ प्रतिशत काम सम्पन्न भएको भन्दै अनुगमनमा पुगेका प्रमुख शाक्य, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष भरतलाल श्रेष्ठलगायतका सामू फागुन मसान्तसम्ममा काम सम्पन्न गरी महानगरपालिकालाई हस्तान्तरण गर्ने बताए ।
कात्तिक २८, २०७७ शुक्रबार १९:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।