सुनिल थापा कांग्रेसका सहमहामन्त्री
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर पार्टी प्रवेश गरेका नेता सुनिलबहादुर थापालाई नेपाली कांग्रेसले सहमहामन्त्रीमा समायोजन गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई सहमहामन्त्रीमा समायोजन गर्ने निर्णय गरेको हो।
बैठकले राप्रपा परित्याग गरेका रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), बृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं) लाई केन्द्रीय सदस्यमा समायोजन गर्ने निर्णय गरेको छ ।
यस्तै टीएन योगी (ललितपुर), दिलिप राई (झापा) आशाराम चौधरी (कैलाली) र राजेशबहादुर सिंह (कपिलवस्तु) लाई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्ने भएको छ ।
उनीहरुलाई विधान २०१७ (संशोधनसहित) को धारा (४) (१०) (ङ) बमोजिम केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गत साउन १३ गते नेता थापासहित राप्रपा केन्द्रीय कार्यसमितिका १६ जना सदस्यसहित ३१ जना कांग्रेस प्रवेश गरेका थिए।
कात्तिक २८, २०७७ शुक्रबार १९:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।